close

आपूर्तिकर्तालाई पाटपुर्जा तथा कच्चा पदार्थको मूल्य घटाउन बीवाईडीको दबाब

टेकपाना टेकपाना

मंसिर १५, २०८१ ११:४०

आपूर्तिकर्तालाई पाटपुर्जा तथा कच्चा पदार्थको मूल्य घटाउन बीवाईडीको दबाब

काठमाडौं । चर्चित ईभी ब्रान्ड बीवाईडीले आफ्ना आपूर्तिकर्ताहरूलाई पाटपुर्जा तथा कच्चा पदार्थको मूल्य घटाउन दबाब दिएको छ । आगामी जनवरीबाट लागू हुने गरी बीवाईडीले कम्तीमा १० प्रतिशत मूल्य घटाउन दबाब दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

हालै मात्र उत्पादकहरूसँग ठूलो परिमाणमा व्यापार पाउन आपूर्तिकर्ताहरूले लागत भन्दा कममा सामान बेच्न परिरहेको अपुष्ट जानकारी सार्वजनिक भएका थिए । यसै सन्दर्भमा बीवाईडी ग्रुपका कार्यकारी उपाध्यक्ष हि-जिजले आगामी जनवरी १ देखि आफ्ना आपूर्तिकर्तालाई १० प्रतिशत मूल्य घटाएर भुक्तानी गर्नेबारे ईमेल गरेको सञ्चारमाध्यम कारन्युज चाइनाले जनाएको छ । 

आपूर्तिकर्ताहरूले डिसेम्बर १५ सम्म माग गरिए बमोजिमको मूल्य सूची बीवाईडीलाई पठाउनु पर्नेछ । उक्त ईमेलको बारेमा सोधिएको स्पष्टीकरणमा बीवाईडीका ब्रान्ड तथा जनसम्पर्क विभागका महाप्रबन्धक ली युनफेईले यसलाई सामान्य र नियमित प्रक्रिया रहेको बताएका छन् ।

उनले भने, "आफ्ना आपूर्तिकर्ताहरूसँग वार्षिक मोलमोलाइ अटोमोबाइल उद्योगमा सामान्य अभ्यास हो । ठूलो मात्रामा सामूहिक खरिदको आधारमा हामी आपूर्तिकर्तालाई मूल्य घटाउने लक्ष्य प्रस्ताव गर्दछौँ, जुन अनिवार्य होइन र यसबारे आपसी छलफल गर्न सकिन्छ ।"

आपूर्तिकर्तालाई मूल्य घटाउन दबाब दिनेमा बीवाईडी मात्र एक्लो ईभी उत्पादक कम्पनी होइन । बीवाईडीसँगै, साङ्घाई अटोमोटिभ इन्डस्ट्री कर्पोरेसन (एसएआईसी)ले पनि आफ्ना आपूर्तिकर्तालाई मूल्य घटाउन दबाब दिँदै ईमेल गरेको खुलासा भएको छ । एसएआईसीको म्याक्सस ब्रान्डले गरेको ईमेलमा आपूर्तिकर्ताहरूसँग मूल्य घटाउने पाँच सुझाव राखिएको छ ।

एसएआईसीले आपूर्तिकर्ताहरूसँग थप प्रतिस्पर्धात्मक कच्चा पदार्थ खरिद गर्ने, नवप्रवर्तनमार्फत सामग्रीको प्रयोग घटाउने, कार्यक्षमता वृद्धि गर्ने, वितरण प्रणाली तथा ढुवानी खर्च घटाउने र दीर्घकालीन सम्बन्ध स्थापना गर्दै मूल्य घटाउन आपसी सहकार्य गर्नका लागि पहल गर्ने सुझाव दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८१ ११:४०