close

एनपीएलमा अवैध बेटिङ साइट उल्फ७७७ को प्रचार हुँदै, आयोजक क्यान मौन

टेकपाना टेकपाना

मंसिर १५, २०८१ १३:५५

एनपीएलमा अवैध बेटिङ साइट उल्फ७७७ को प्रचार हुँदै, आयोजक क्यान मौन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार भइरहेको पाइएको छ । आजदेखि सुरु भएको एनपीएलमा नेपालमा प्रतिबन्धित उल्फ७७७ को विज्ञापन भइरहेको हो । 

यसअघि आयोजक क्यानले सबै प्रायोजकको नाम कार्यक्रम आयोजना गरी वा प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको थियो । तर उल्फ७७७ भने अपारदर्शी रूपमा एक्कासि मैदानमा देखिएको छ ।

यसो त क्यानले उल्फ७७७ लाई अनलाइन स्पोर्टको समाचार पोर्टलको रूपमा प्रस्तुत गरेको छ । तर, उल्फ७७७ को मुख्य धन्धा नै अनलाइन क्यासिनो तथा जुवा नै हो । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन जुवा खेलाउने प्लेटफर्मका वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपनि उल्फ७७७ को वेबसाइट सहजै चलिरहेको छ ।

यसअघि नेपाल प्रहरीले उल्फ७७७ मार्फत अनलाइन जुवा खेलाउने केही व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गोप्य रूपमा यो प्लेटर्फम भित्रभित्रै मौलाइरहेको थियो । तर अहिले भने प्रायोजक बनेर मैदानमा छर्लङ्ग देखिएको छ । अर्थात् उल्फ७७७ ले सरोगेट एड्भर्टाइजिङ मार्फत खुलेआम प्रचार गरेको देखिएको छ ।

अरु सबै प्रायोजक पारदर्शी रूपमा सार्वजनिक गरेको क्यानले उल्फ७७७ को प्रचार भने कतै गरेन । यस विषयमा क्यानका सचिव पारस खड्कासँग बुझ्न खोज्दा उनको फोन उठेन ।

यसअघि पनि नेपालमा हुने थुप्रै घरेलु क्रिकेट म्याचमा यस्ता अवैध सट्टेबाजी प्लेटफर्मले आफ्नो प्रचार गरेका थिए । वनएक्स बेटले वनएक्स ब्याट स्पोर्टिङ्ग, स्काई एक्सचेन्जले स्काई एक्सचेन्ज न्युज, डाफा बेटले डाफा न्युज राखेर प्रचार गरेका थिए ।

त्यसो त पछिल्लो समय नेपालसहितका कतिपय देशमा हुने खेल प्रतियोगितामा आर्थिक सहायता दिने अधिकांश विदेशी विज्ञापनदाताको पृष्ठभूमि अनलाइन बेटिङ (सट्टेबाजी) सँग जोडिएको छ । यस्ता प्लेटफर्म यति धेरै प्रभावशाली हुँदै गएका छन् कि कतिपय खेलमा ‘स्पट फिक्सिङ’ समेत गराउन सक्छन् । 

नेपालमा कुनै प्रकारको जुवा प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ ।

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, "कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।"

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिट्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ ।

तर, कानुनी छिद्रको फाइदा उठाउँदै नेपालमा प्रतिबन्धित सट्टेबाजीको ‘सरोगेट एडभटाइजिङ’ भइरहेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८१ १४:१२