काठमाडौं । धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरूको मुख्य चाहना भनेकै लामो समयसम्म टिक्ने ब्याट्री हुन्छ । यस्तै चाहनालाई मध्यनजर गर्दै रियलमीले आफ्नो नयाँ स्मार्टफोनमा ८,००० एमएएच क्षमताको ब्याट्री राख्ने तयारी गरिरहेको छ ।
यो जानकारी प्रसिद्ध टिपस्टर डिजिटल च्याट स्टेसनले नोटबुकचेकमार्फत दिएका हुन् । स्रोतका अनुसार कम्पनीले सम्भवतः सन् २०२५ मा सार्वजनिक गर्ने फ्ल्यागशिप स्मार्टफोन रियलमी जीटी ८ प्रोका लागि ७,००० एमएएच, ७,५०० एमएएच र ८,००० एमएएच क्षमताका विभिन्न ब्याट्री विकल्पको विषयमा विचार गरिरहेको छ ।
यद्यपि, ब्याट्रीको क्षमता बढ्दै जाँदा चार्जिङ स्पिड घट्ने र पूरा चार्ज गर्न लाग्ने समय बढ्ने सम्भावना रहेको छ । त्यसैले, कम्पनीले कुन क्षमता रोज्ने भन्ने निर्णय अझै गरी नसकेको जनाइएको छ ।
तर यदि ८,००० एमएएच ब्याट्री रोजाइमा पारेको खण्डमा यो उपभोक्ताहरूका लागि निकै सुखद् समाचार हुनेछ । त्यसो त ८,००० एमएएच क्षमताको ब्याट्री भएका फोन यसअघि पनि आएका थिए ।
केही फोनमा २२,००० एमएएचसम्मको ब्याट्री समेत देखिएको थियो । तर ती फोनहरू दैनिक प्रयोगका लागि उपयुक्त नहुने गरी ठुला र गह्रुङ्गा थिए ।
तर यदि रियलमीले ८,००० एमएएच क्षमता रोजेको खण्डमा यो ब्याट्रीले उपभोक्ता लक्षित फोनमा हालसम्मकै ठुलो क्षमताको ब्याट्रीको कीर्तिमान बनाउनेछ ।
हालको अवस्थामा थोरै स्मार्टफोनहरूले मात्र ७,००० एमएएच ब्याट्री प्रदान गर्छन् । यसले एप्पलको आईफोन १६ (३,५६१ एमएएच) र सामसङको ग्यालेक्सी एस २४ (४,०००एमएएच) जस्ता फ्ल्यागशिप फोनहरूको तुलनामा धेरै राम्रो ब्याट्री पर्फर्मेन्स दिन सक्छ ।
तर, ब्याट्रीको क्षमता मात्रैले स्मार्टफोनको ब्याट्री लाइफ भने निर्धारण गर्दैन । चिपसेटको दक्षता र अन्य विषयहरूले पनि यो कुरामा ठुलो भूमिका खेल्छन् ।