काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले विद्युतीय गाडी सार्वजनिक गरेको छ । मङ्गलबार कम्पनीले गुआङडोङ प्रान्तको सेन्जेन सहरमा बहु प्रतीक्षित मइस्ट्रो एस ८०० ईभी सार्वजनिक गरेको हो ।
प्रिमियम डिजाइनमा ह्वावेले ल्याएको यस कारले लक्जरी ब्रान्ड रोल्स रोयस र मर्सिडिज मेब्याचसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । कम्पनीले ल्याएको मइस्ट्रो ब्रान्डको यो नै पहिलो विद्युतीय गाडी हो । यसअघि ह्वावेले स्थानीय सवारी निर्मातासँगको सहकार्यमा तीन ओटा ब्रान्ड सार्वजनिक गरेको थियो । मइस्ट्रो भने ह्वावेले स्थानीय अटो निर्माता जेएसीसँग सहकार्य गरी ल्याएको चौथो ब्रान्ड हो ।
चिनियाँ सञ्चारमाध्यम चाइना डेलीका अनुसार एस ८०० हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्स अन्तर्गतको सबैभन्दा महँगो मोडेल हो । यसको मूल्य १० लाखदेखि १५ लाख युआन (करिब एक करोड ८६ लाखदेखि दुई करोड ७९ लाख रुपैयाँ) हुने बताइएको छ । यो गाडी अहिले अग्रिम-बिक्रीका लागि खुला भइसकेको छ ।
खरिद गर्न चाहने व्यक्तिले अग्रिम रूपमा २० हजार युआन (करिब तीन लाख ७२ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।
५,४८० एमएम लम्बाइ, २,००० एमएम चौडाइ, १५३६ एमएम उचाइ र ह्विलबेस ३,३७० एमएम रहेको छ । कम्पनीले के पनि दाबी गरेको छ भने यो गाडी चिनियाँ बाटोमा कुद्ने ९९.९९ प्रतिशत गाडीभन्दा ठुलो छ ।
यो मोडेल लेभल थ्री इन्टेलिजेन्ट ड्राइभिङ आर्किटेक्चर अन्तर्गत डिजाइन गरिएको हो । ह्वावेको दोस्रो पुस्ताको ट्युलिङ इन्टेलिजेन्ट च्यासिसमा निर्माण भएको यो नै पहिलो मोडेल हो ।
ह्वावेले यस मोडेलका विस्तृत विवरणहरू अझै सार्वजनिक गरिसकेको छैन । बजारमा औपचारिक रूपमा कहिले सार्वजनिक हुन्छ भन्ने मिति पनि खुलाइको छैन ।
जेएसी मोटरका अध्यक्ष शियाङ सिङचुका अनुसार मइस्ट्रोको यस मोडेलमा ह्वावे र जेएसी दुवैले उच्च स्तरका प्रविधि प्रयोग गरेका छन् । यसको विकास, निर्माण, वितरण र सर्भिस सपोर्टमा पनि विशेष ध्यान दिइएको उनले बताए । उनका अनुसार यस मोडेललाई शीर्ष प्राथमिकता अन्तर्गतको परियोजनाका रूपमा लिइएको छ ।
ह्वावेका अनुसार गाडी घोषणा गरेको दुई दिनमै २,१०० भन्दा बढी प्रि-अर्डर आइसकेका छन् । चिनियाँ सञ्चार माध्यमले गाडी घोषणा भएको ४८ घण्टाभित्र यतिका अर्डर आउनुलाई ठुलो सफलताको रूपमा लिएका छन् ।