close

साँच्चिकै एआईमा आधारित एपले गर्न सक्ला त मान्छेको मृत्यु हुने मितिको भविष्यवाणी ?

टेकपाना टेकपाना

मंसिर १७, २०८१ १६:२६

साँच्चिकै एआईमा आधारित एपले गर्न सक्ला त मान्छेको मृत्यु हुने मितिको भविष्यवाणी ?

काठमाडौं । एआईबाट सञ्चालित ‘डेथ क्लक’ नामक मोबाइल एप यतिबेला विवादित बनेको छ । एआईको सहायताले कुनै पनि व्यक्तिको मृत्युको भविष्यवाणी गर्ने दाबी गरेपछि यो एप चर्चामा आएको हो ।

गत जुलाईमा सार्वजनिक भएको यो एप मान्छेको खानपान र जीवनशैलीको आधारमा व्यक्तिको ‘लाइफ एक्सपेक्टेन्सी’ (कति उमेरसम्म बाँच्न सक्छ भन्ने कुरा) भविष्यवाणी गर्ने सेवा दिन्छ । उमेर, तौल, व्यक्तिगत रुचि, धूम्रपान वा मदिराको लत वा बानी आदिलाई विश्लेषण गरी यस एपले मृत्युको मिति पत्ता लगाइ दिने दाबी गर्छ ।

यद्यपि यो केवल एक प्रचार गर्ने बाटो मात्र हो वा स्वास्थ्य सम्बन्धी गम्भीर मार्गदर्शन हो भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

डेथ क्लकले काम कसरी गर्छ ?

डेथ क्लक ब्रेन्ट फ्रान्सन नामका एक व्यक्तिले विकास गरेका हुन् । उनले यसमा लाइफ एक्सपेक्टेन्सीसँग सम्बन्धित १,२०० बढी अध्ययनको डेटा समावेश गरेका छन् । त्यस्तै यसमा पाँच करोड ३० लाख व्यक्तिको डेटा राखिएको छ । 

यसको अर्थ यो एपले तपाईँको जीवनको भविष्यवाणीलाई बढी व्यक्तिगत र सटीक बनाउँछ । यो सामान्य लाइफ एक्सपेक्टेन्सी तालिकामा आधारित अनुमान भन्दा बढी सटीक हुने बताइएको छ ।

यो प्रक्रिया व्यक्तिको जन्म मिति, शारीरिक अवस्था, धूम्रपानको बानी र व्यक्ति बस्ने ठाउँको अवस्था जस्ता महत्वपूर्ण जानकारीमा आधारित हुन्छ । त्यसपछि एआईले व्यक्तिको लाइफ एक्सपेक्टेन्सी हिसाब गरेर ‘मृत्यु मिति’ को गन्ती देखाउँछ । 

केही व्यक्तिलाई यो एपको अवधारणा असहज लागेको छ । तर, यसका डेभलपरले यो एप मृत्यु हुने दिन पत्ता लगाउनेभन्दा पनि स्वास्थ्य विकल्पका बारेमा सोच्नका लागि प्रयोग गर्न सकिने तर्क दिएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्सले व्यक्तिको विभिन्न पक्षलाई आधार मानेर दीर्घायु र जीवनशैलीको बारेमा उपयुक्त हुने सुझाव दिन्छ । यसले गर्दा केही रोग वा गम्भीर अवस्थाको जोखिम घटाउन मद्दत गर्न सक्ने एप डेभलपरको भनाइ छ ।

एपको चर्चा

यस एपको अवधारणा अजीवको भए पनि यसले बजारमा राम्रो चर्चा पाइरहेको छ । डेथ क्लक प्रयोग गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन । प्रयोगकर्ताले अकाउन्ट बनाएपछि सहजै प्रयोग गर्न सक्छन् । सेन्सर टावरका अनुसार यो एप एक लाख २५ हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ । हेल्थ एन्ड फिटनेस क्याटेगोरीमा यो एप सबैभन्दा बढी डाउनलोड हुनेमा पर्छ । 

मृत्युको मिति भविष्यवाणी गर्नुका साथै यस एपले प्रयोगकर्ताहरूलाई स्वास्थ्य सुधार गर्ने व्यवहारिक सुझाव पनि दिन्छ । स्वस्थ तौल राख्न, नियमित व्यायाम गर्न र धूम्रपान छोड्न यो एपले सचेत बनाउँछ । प्रयोगकर्तालाई स्वस्थ आहार सेवन गर्न, मदिरा कम पिउन, पर्याप्त निद्रा प्राप्त गर्न र तनाव व्यवस्थापन गर्न पनि एपले प्रोत्साहित गर्ने बताइएको छ । 

एपले स्वास्थ्य जाँचको महत्त्वमा बढी जोड दिन्छ । यसले सम्भावित समस्याहरूलाई नियन्त्रणमा राख्न सघाउने कम्पनीको दाबी छ । यसरी प्रयोगकर्ता एपको सहयोगमा जीवनशैली परिवर्तन गर्न केन्द्रित हुने अपेक्षा गरिएको छ ।

यसले दीर्घकालीन रोग जस्तै हृदय रोग, मधुमेह वा क्यान्सरको जोखिम घटाउने भनिएको छ । कम्पनीका अनुसार यस एपको उद्देश्य स्वास्थ्य प्रति सक्रिय दृष्टिकोण प्रोत्साहित गर्नु हो ।

यस एपले स्वास्थ्यको फाइदा दिनुका साथै केही गोपनीयता सम्बन्धी चिन्ता पनि पैदा गरेको छ । यसले भविष्यवाणी गर्न प्रयोगकर्ताको स्वास्थ्य सम्बन्धी संवेदनशील डेटा लिनुपर्ने हुन्छ । यस्तो डेटा यदि लिक भयो भने त्यसले गम्भीर क्षति निम्त्याउन सक्ने चिन्ता गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८१ १६:२६