काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नम्बर २ मा नयाँ साइट निर्माण गरी १६ मङ्सिरदेखि टुजी तथा फारजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनमा ल्याएसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ अन्तर्गतका गडी गाउँ, तल्फी गाउँ, माताचौर गाउँ, छुमचौर गाउँ लगायतका स्थानीयले पहिलो पटक दूरसञ्चार सेवा पाएका छन् ।
दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले सो स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भोइस तथा डेटा सेवा विस्तार गरेको हो । यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।