close

अवैध अनलाइन जुवाको प्रचारमा विराटनगर किङ्ग्स पनि

टेकपाना टेकपाना

मंसिर १८, २०८१ १३:५२

अवैध अनलाइन जुवाको प्रचारमा विराटनगर किङ्ग्स पनि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्ग्ससमेत अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचारमा लागेको छ । टिमको जर्सीमा ‘बिजे स्पोर्ट्स’ को लोगो राखी टिमले नेपालमा अवैध अनलाइन जुवाको प्रचार गरिरहेको छ ।

यसो त बीजे स्पोर्ट्सले आफूलाई क्रिकेटको समाचार प्रसारण गर्ने सञ्चारमाध्यमका रूपमा प्रस्तुत गरेको छ । तर त्यसलाई सञ्चालन गर्ने कम्पनी 'बीजे ८८' नेपालमा अवैध मानिएको अनलाइन बेटिङ प्लेटफर्म हो । 

विराटनगर किङ्ग्सको जर्सी पछाडि 'बीजे स्पोर्ट्स बाई बीजे ८८' लेखिएको स्पष्ट देखिन्छ । प्रतियोगितामा दुई खेल खेलेको टिमले सुरुवातदेखि नै यस प्लेटफर्मको प्रचार गरिरहेको छ । अरू सबै प्रायोजक र साझेदारको नाम सार्वजनिक गरेको टिमले बीजे ८८ बारे बाहिर मुख खोलेको छैन । 

बीजे स्पोर्ट्सबाट सहजै 'बीजे ८८' नामक अनलाइन बेटिङ प्लेटफर्ममा पुग्न सकिन्छ । यसमा नेपालको लोकेसन छानेर अकाउन्ट बनाउने हो भने सजिलै नेपाली वालेट र बैंक खाताबाट रकम जम्मा गर्न सकिन्छ । यसमा खुलेआम रूपमा ईसेवा र खल्ती वालेटको लोगो राखिएको छ । बैंकबाट भुक्तानी गर्न चाहनेका लागि प्रभु बैंकको खाता नम्बर उपलब्ध गराइएको छ । 

एनपीएलकै अर्को टोली सुदूरपश्चिम रोयल्स पनि खुला रूपमा अनलाइन अवैध जुवा​ प्लेटफर्म बाबु ८८ को प्रचारमा लागेको छ । त्यसो त एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) को प्रायोजक नै अनलाइन बेटिङसँग सम्बन्धित कम्पनी हो ।

क्यानले उल्फ७७७ लाई अनलाइन स्पोर्टको समाचार पोर्टलको रूपमा प्रस्तुत गरेको छ । तर, उल्फ७७७ को मुख्य धन्धा अनलाइन क्यासिनो/जुवा हो । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन जुवा खेलाउने प्लेटफर्मका वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपनि नेपालमा उल्फ७७७ को वेबसाइट सहजै चलिरहेको छ ।

सम्बन्धित समाचार: 

एनपीएलमा अवैध बेटिङ साइट उल्फ७७७ को प्रचार हुँदै, आयोजक क्यान मौन

सुदूरपश्चिम रोयल्सको प्रायोजकमा अनलाइन बेटिङ कम्पनी, जर्सीमै लोगो राखी प्रचार

अनलाइन सट्टेबाजीले एनपीएल विवादमा, कडा निगरानी गर्दै सीआईबी

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८१ १४:२०