close

ऊर्जा विकासमा एडीबी-नेपाल साझेदारी ५ दशक पुगेको अवसरमा फोटो प्रदर्शनी, प्रवेश नि:शुल्क

टेकपाना टेकपाना

मंसिर १८, २०८१ १८:४३

ऊर्जा विकासमा एडीबी-नेपाल साझेदारी ५ दशक पुगेको अवसरमा फोटो प्रदर्शनी, प्रवेश नि:शुल्क

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीचको सहकार्य पाँच दशक पूरा भएको अवसरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा र नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे ।

फोटोपत्रकार क्लब नेपालको सहकार्यमा आयोजित प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्नेछ । प्रदर्शनीमा एडीबी र नेपाल सरकारको ५० वर्ष लामो सहकार्यका क्रममा ऊर्जा क्षेत्रमा भएका उपलब्धिहरूलाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ ।

ऊर्जा राज्यमन्त्री तामाङले उद्घाटन समारोहमा नेपालको ऊर्जा क्षेत्रमा एडीबीले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे । उनले भने, "धेरै सकारात्मक कामहरू भर्खरै सम्पन्न भएका छन् । नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्‍याएको सहयोगमा म धन्यवाद दिन चाहन्छु ।"

एडीबी नेपालका निर्देशक कोस्वाले ऊर्जा उत्पादन, प्रसारण र वितरणमा निरन्तर सहकार्य गर्दै आएको र यसलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, "न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा उभिएको छ ।"

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एडीबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भइरहेको बताए । उनले ऊर्जा क्षेत्रमा एडीबीको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

प्रदर्शनीलाई उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार भागमा विभाजन गरिएको छ ।

नेपाल सरकार र एडीबीको पाँच दशक लामो सहकार्यलाई झल्काउने यो प्रदर्शनी ऊर्जा क्षेत्रका उपलब्धिहरू अवलोकन गर्न चाहनेहरूका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८१ १९:१