close

एआई र स्मार्ट भुक्तानी सुविधा भएको चस्मा ल्याउँदै सामसङ

टेकपाना टेकपाना

मंसिर १९, २०८१ १५:३८

एआई र स्मार्ट भुक्तानी सुविधा भएको चस्मा ल्याउँदै सामसङ

काठमाडौं । सामसङले आफ्नो नयाँ प्रविधि एक्सआर (एक्सटेन्डेड रियालिटी) चस्माको चर्चा गर्न थालेको छ । जनवरीमा हुने ग्यालेक्सी एस२५ इभेन्टमा कम्पनीले यसको झलक प्रस्तुत गर्ने कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

तर, यो चस्मा तत्काल बजारमा उपलब्ध हुने छैन । सामसङले यो चस्मा प्रोटोटाइपको रूपमा भिडिओ वा तस्बिरमार्फत मात्र देखाउनेछ । यसअघि ग्यालेक्सी रिङको झलक पनि यस्तै शैलीमा प्रस्तुत गरिएको थियो ।

यो चस्मा ५० ग्राम मात्र तौल हुने र साधारण चस्माजस्तै देखिने बताइएको छ । तर, यसमा हुने प्रविधिहरू भने अनौठा छन् । चस्माले एआई प्रयोग गर्दै अनुहार र इशारा पहिचान गर्न सक्छ । यो सुविधाले प्रयोगकर्तालाई चस्मामार्फत भुक्तानी गर्नसमेत सक्षम बनाउने बताइएको छ ।

कम्पनीले यो प्रविधि विकासका लागि सन् २०२३ को फेब्रुअरीदेखि गुगल र क्वालकमसँग सहकार्य गरिरहेको छ । पूर्ण रूपमा तयार चस्मा २०२५ को तेस्रो त्रैमासिकमा अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म उपलब्ध हुने अपेक्षा छ ।

त्यसअघि, सामसङले आफ्नो एक्सआर सफ्टवेयर प्लेटफर्मको घोषणा यसै महिना गर्ने योजना बनाएको छ । यस्तो प्रविधिले सामसङलाई एआई र भर्चुअल रियालिटीको क्षेत्रमा अगाडि बढ्न थप ऊर्जा दिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८१ १६:४५