close

पत्रकारलाई फेसबुकबाट धम्क्याउँदै मेयर हर्क साम्पाङ, सामाजिक सञ्जालमा व्यापक आलोचना

टेकपाना टेकपाना

मंसिर २०, २०८१ १३:५५

पत्रकारलाई फेसबुकबाट धम्क्याउँदै मेयर हर्क साम्पाङ, सामाजिक सञ्जालमा व्यापक आलोचना

काठमाडौं । सामाजिक सञ्जालमार्फत पत्रकारलाई धम्क्याएको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको आलोचन भएको छ । बुधबार साम्पाङले पत्रकारद्वय गोपाल दाहाल र जनकऋषि राईका बारेमा धम्कीयुक्त फेसबुक पोस्ट गरेको भन्दै आलोचना भइरहेको छ । 

गत शुक्रबार हिमाल खबरमा पत्रकार दाहालको समाचार ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ प्रकाशित भएको थियो । सो समाचारमा मेयर हर्क सामपाङले धरानमा कसरी बेथिति मौलाइरहेका छन् भन्ने उल्लेख गरिएको छ । समाचारलाई लिएर आपत्ति जनाउँदै मेयर राईले पत्रकारद्वय दाहाल र राईको बारेमा पोस्ट राखेका थिए । 

उक्त पोस्टमा राईले भनेका छन्, “भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ मुलाको यस्तो बेइजत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ! जनक ऋषि भन्ने पनि आउनु ! निक्कै फुरफुर गरिस् तिमेरुले । ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन !”

त्यस लगत्तै बुधबार अर्को पोस्ट राख्दै राईले भनेका थिए, “खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बुझिस् चोरफटाहा !”

यिनै पोस्टलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले मेयर राईले पत्रकारलाई धम्की दिएको उल्लेख गरेका छन् ।

फेसबुकमा अफिक अहमद नामका प्रयोगकर्ता लेख्छन्, “धरानका मेयर हर्क साम्पाङले अत्यन्त निम्नस्तरको भाषा प्रयोग गरी सार्वजनिक रूपमा पत्रकारलाई गालीगलौज गरी लेखेका यी पोष्टहरुको निन्दा गर्दछु । पत्रकारको हित संरक्षणको निम्ति सक्रिय संघ संगठन एवम पत्रकार महासंघ साथै राज्य प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । यस अराजकता विरुद्ध जुनसुकै स्तरको लडाईंमा साथ र समर्थन हुनेछ ।” 

त्यस्तै सिताराम गुरागाईं लेख्छन्, “समाचारमा चित्त नबुझेमा त्यसका लागि उपचार खाेज्ने कानुनी बाटाे छ । प्रेस काउन्सिल छ । अदालत छ । राज्यका अरु निकाय छन् । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई खुलम् खुल्ला धम्की दिएर हर्क साम्पाङले प्रेस स्वतन्त्रता र विधिको शासनमाथि ठाडाे प्रहार गरेका छन् ।”

सञ्चारविद् भानुभक्त आचार्यले पनि मेयर साम्पाङको पोस्टलाई निएर निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सार्वजनिक रूपमा एउटा पत्रकारले सप्रमाण लेखेको खोजमूलक रिपोर्टिङका विरुद्ध सामाजिक सञ्जालबाट गरिएको धम्की प्रेस स्वतन्त्रताको विरुद्ध छ । अस्वीकार्य एवं निन्दनीय छ । राजनीतिक समीकरणले थिलथिलो पारेको पत्रकार महासंघले पनि सकिन्छ भने दुईचार शब्द बोले हुने । हर्क सम्पाङलाई तत्कालै यथोचित कारबाही होस् ।”

यसैबीच नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङको पोस्टप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्तिमा भनेको छ, “साम्पाङको यो अराजक र अशोभनीय हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।”

फेसबुक, एक्स लगायतका प्लेटफर्ममा सक्रिय नागरिक र पत्रकार संगठनहरूले साम्पाङको अभिव्यक्तिलाई गम्भीर रूपले निन्दा गर्दै पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरेका छन् । यस घटनाले राजनीतिक र कानुनी सन्दर्भमा पनि बहस सिर्जना गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८१ १४:६