काठमाडौं । पछिल्लो केही वर्षमा विश्व परिवेश द्रुत गतिमा बदलिरहेको पक्कै अनुभव गर्नु भएको होला । विशेषगरी सूचना प्रविधि क्षेत्रले अत्यन्त तीव्र गतिमा प्रगति गरेको छ । यस्तो लाग्छ, हरेक दिन नयाँ आविष्कार र प्रविधिहरू हामीसामु आइरहेका छन् । र, तिनले पुराना प्रणाली र विधिलाई प्रतिस्थापन गरेका छन् ।
जानकारहरूले अहिले हामी जसरी परम्परागत पद्धतिले काम गर्छौं, त्यो काम छिट्टै प्रविधिले लिने विश्लेषण गरेका छन् । मान्छेले गर्ने कैयौं काम प्रविधिले गरिदिने भएपछि ठूला प्रविधि कम्पनीहरूले कर्मचारी पनि निकाल्न थालेका छन् ।
आईटी क्षेत्रको यस प्रगतिलाई हामीले क्लाउड कम्प्युटिङको वृद्धि भइरहेको रूपमा पनि देखेका छौं । आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनको रूपमा पनि आईटी क्षेत्रलाई नियालीरहेका छौं । मोबाइल प्रविधिको विकास र साइबर सुरक्षाले पनि यही आईटी क्षेत्रको प्रगति देखाउँछन् । यसको अर्थ आईटी क्षेत्रमा भएका यी परिवर्तनलाई जसले छिटो अङ्गाल्छ, उसले यस क्षेत्रमा धेरै उज्ज्वल अवसर पाउँछ ।
त्यसोभए आईटी क्षेत्रमा अहिले र आगामी वर्षहरूमा कुन सीपहरूको माग सबैभन्दा बढी होला त ? आज हामी त्यसैबारे चर्चा गर्दैछौं:
एआई र एमएल (आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ)
आईटीका सबैभन्दा महत्त्वपूर्ण सीपहरू एआई र एमएलमा केन्द्रित छन् । स्वास्थ्य सेवा, वित्त, मार्केटिङ जस्ता धेरै क्षेत्रमा एआई र मेसिन लर्निङले क्रान्ति नै ल्याएको छ । टास्क अटोमेसन, डेटामा आधारित निर्णय लिने क्षमता र कार्यक्षमता सुधार गर्न पनि एआई र मेसिन लर्निङको महत्त्वपूर्ण भूमिका छ । यही सीपका कारण विभिन्न उद्योग रूपान्तरण भइरहेका छन् । अहिले स्वास्थ्य क्षेत्रमा निदान र उपचार योजना बनाउन पनि एआईकै कारण सजिलो भएको छ ।
वित्त क्षेत्रमा ठगी पत्ता लगाउन र जोखिम व्यवस्थापन गर्न सम्भव भएको छ । यसको माध्यमबाट व्यवसायहरूले अझ राम्रो बजार रणनीतिहरू बनाउन, ग्राहक लक्षित गर्न र स्रोत व्यवस्थापनलाई सजिलो बनाउन सकिरहेका छन् ।
च्याटजीपीटी, जेमिनाई, कोपाइलट, ग्रोक जस्ता जेनेरेटिभ एआई प्रविधिको वृद्धिले यी क्षेत्रमा दक्ष व्यवसायीको उच्च माग सिर्जना गरेको छ । हरेक दिनसँगै एआई र मेसिन लर्निङ प्रविधिहरू निरन्तर विकसित भइरहेका छन् । यसैले हरेक उद्योगमा यी प्रविधिहरूको प्रयोग बढ्दै जानेछ जसले योग्य विज्ञको मागलाई अझै वृद्धि गर्नेछ ।
यसकारण एआई र मेसिन लर्निङको माग आगामी दिनहरूमा अझै बढ्नेछ ।
डेटा विज्ञान र एनालिटिक्स
आज व्यवसायहरूले ठूलो मात्रामा डेटा उत्पन्न गरिरहेका छन् । साना वा ठूला सबै व्यवसायको मुख्य सम्पत्ति अहिले डेटा नै बनिसकेको छ । यी डेटालाई विश्लेषण गरेर उपयोगी जानकारी निकाल्नका लागि विज्ञहरूको आवश्यकता पर्छ ।
यसका लागि कम्पनीहरू डेटा विज्ञान र एनालिटिक्समा निर्भर छन् । यसले निर्णय लिन, व्यवसायको प्रदर्शन सुधार गर्न र व्यवसायका प्रवृत्तिहरूलाई पहिचान गर्न मद्दत गरेको छ । स्वास्थ्य क्षेत्रमा, खुद्रा व्यापार र ई-कमर्सका साथै वित्त क्षेत्रमा डेटा विज्ञान र एनालिटिक्सको आवश्यकता परिरहेको छ ।
त्यसैगरी एआई र मेसिन लर्निङ जस्ता प्रविधिहरू पनि ठूला डेटा सेटहरूमा निर्भर हुन्छन् । यसलाई डेटा साइन्स र इनालिटिक्स पेसेवरले व्यवस्थापन गर्छन् । यसको अर्थ जति छिटो एआई र मेसिन लर्निङमा प्रगति हुँदै गइरहेको छ, उति नै तीव्रताका साथ डेटा प्रोफेसनल्सको माग पनि बढ्दै जानेछ । भविष्य एआई र मेसिन लर्निङकै हुनेछ भन्ने सबैलाई थाहा थाहा नै छ । यसैले आगामी दिनमा एआई र मेसिन लर्निङसँगै डेटा साइन्स र एनालिटिक्सको वृद्धि, प्रगति र माग पनि उल्लेखनीय रूपमा बढ्नेछ ।
क्लाउड कम्प्युटिङ
यो एउटा यस्तो प्रविधि हो, जसको सहयोगले कम्पनीहरूले आफ्नो डेटा सुरक्षित राख्न, सफ्टवेयर सञ्चालन गर्न र आफ्ना अपरेसनलाई बिना कुनै भौतिक सर्भर वा हार्डवेयर व्यवस्थापन गर्न सक्छन् ।
क्लाउड कम्प्युटिङका प्रमुख प्लेटफर्महरू अमेजन वेब सर्भिस, माइक्रोसफ्ट एज्युर, गुगल क्लाउडले यस क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छन् । क्लाउड कम्प्युटिङको कारण आज कम्पनीले फ्लेक्जिबल (लचिलोपन) र कार्यक्षमतामा उल्लेखनीय फाइदा पाइरहेका छन् । साथै एउटै समयमा विभिन्न क्लाउड प्लेटफर्महरू प्रयोग गर्नसक्ने सुविधा पनि पाएका छन् ।
यसैले क्लाउड कम्प्युटिङसँग सम्बन्धित सीपहरूको माग तीव्र रूपमा बढिरहेको छ । साथै क्लाउड आर्किटेक्ट, क्लाउड इन्जिनियर, क्लाउड सेक्युरिटी इन्जिनियर जस्ता विशेषज्ञहरूको माग पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । यसले के देखाउँछ भने यस क्षेत्रमा विज्ञहरूको लागि सुनौलो अवसर तयार भइसकेको छ ।
साइबर सुरक्षा
आजका दिनका साइबर सुरक्षा प्राथमिकताको अग्रस्थानमा पुगेको छ । अहिले कम्पनीले आफ्नो संवेदनशील डेटा र अपरेसनहरू डिजिटल रूपमा सुरक्षित गर्न थालेका छन् । यसको अर्थ कम्पनीको सबैभन्दा महत्त्वपूर्ण डेटा अनलाइन छ । यसले साइबर आक्रमण र डेटा चोरीको खतरा बढाएको छ । त्यसैले आज प्रत्येक कम्पनीले आफ्नो डेटालाई सुरक्षित राख्न साइबर सुरक्षालाई प्राथमिकता दिन थालेका छन् ।
यस अवस्थामा साइबर सुरक्षा विश्लेषक, सूचना सुरक्षा परामर्शदाता, सुरक्षा अपरेसन केन्द्र विश्लेषक, पेनिट्रेसन टेस्टर जस्ता साइबर सुरक्षा विज्ञहरूको माग निरन्तर बढिरहेको छ । यो माग भविष्यमा पनि रोकिंदैन, किनभने द्रुत गतिमा डिजिटाइज भइरहेका संसारका लागि साइबर सुरक्षाको आवश्यकता अझ बढ्ने देखिन्छ ।
एआई प्रम्प्ट इन्जिनियरिङ
एआई र प्रम्प्ट इन्जिनियरिङ तीव्र गतिमा विकास भइरहेको क्षेत्र हो । यसमा एआई मोडेललाई उचित निर्देशनहरू दिइन्छ, ताकि तिनीहरूले उत्कृष्ट नतिजा दिन सकून् । यी एआई मोडेलहरूले टेक्स्ट, इमेज वा कोड तयार पार्न सक्छन् । तर तिनीहरूको आउटपुट पूर्ण रूपमा तिनलाई दिइने निर्देशनहरूमा निर्भर हुन्छ । जति स्पष्ट र प्रभावकारी निर्देशन दिइन्छ, त्यति नै उत्कृष्ट र सटीक नतिजा एआई मोडेलले प्रदान गर्छ ।
आज मार्केटिङ र विज्ञापन, मनोरञ्जन र मिडिया, सफ्टवेयर डेभलपमेन्ट तथा ग्राहक सेवा जस्ता क्षेत्रमा एआई प्रम्प्ट इन्जिनियरिङको माग तीव्र रूपमा बढिरहेको छ । च्याटजीपीटी र मिडजर्नी जस्ता एआई टुल जति लोकप्रिय भइरहेका छन् यी उपकरणलाई सही तरिकाले सञ्चालन गर्न प्रम्प्ट इन्जिनियरहरूको माग पनि त्यति नै तीव्र गतिमा बढिरहेको छ ।
ब्लकचेन प्रविधि
ब्लकचेन यस्तो प्रविधि हो, जसले डेटालाई सुरक्षित रूपमा भण्डारण गर्छ । चाहे बैंकिङ जानकारी होस्, मेडिकल रेकर्ड होस् वा कुनै व्यक्तिगत डेटा होस् ब्लकचेनले तिनलाई सुरक्षित राख्न र ह्याकरहरूको पहुँचबाट जोगाउन मद्दत गर्छ । यो प्रविधि प्रयोग गर्दा कुनै पनि लेनदेनमा हेरफेर वा छेडछाडको कुनै सम्भावना हुँदैन । एकपटक डेटालाई ब्लकचेनमा समावेश गरिसकेपछि त्यसलाई परिवर्तन गर्न सकिँदैन । यही कारणले डेटाको सुरक्षा सुनिश्चित गर्ने यो प्रविधि अहिले धेरै माग हुने क्षेत्रमा पर्छ ।
ब्लकचेनको प्रयोग क्रिप्टोकरेन्सी, वित्तीय क्षेत्र, स्वास्थ्य सेवा, आपूर्ति श्रृङ्खला, रियल स्टेट र भोटिङ प्रणालीमा भइरहेको छ । डेटाको भविष्य उज्ज्वल भएकै कारण यसलाई सुरक्षित राख्ने ब्लकचेन प्रविधिको भविष्य पनि निकै उज्यालो छ । यसले ब्लकचेन डेभलपर, क्रिप्टोग्राफिक विज्ञ र स्मार्ट कन्ट्र्याक्ट डेभलपरका लागि सुनौलो अवसरहरू सिर्जना गरेको छ ।
प्राविधिक समर्थन र नेटवर्किङ
जसरी संस्थाहरूले नयाँ प्रविधिहरू अपनाउन थालेका छन् त्यसैगरी प्राविधिक समर्थन र नेटवर्किङ व्यवसायिकको माग पनि तीव्र रूपमा बढेको छ । विशेषगरी हाइब्रिड र रिमोट वर्कको वातावरण लोकप्रिय बन्दै गएपछि यसको आवश्यकता बढ्न थालेको छ ।
यी पेसेवरको मुख्य काम नेटवर्क प्रशासकका रूपमा कार्य गर्ने अर्थात् नेटवर्कलाई सञ्चालन र सुधार गर्न हो । यसले डेटाको सुरक्षित आदानप्रदान सुनिश्चित गर्दछ । साथै प्राविधिक समस्याहरू समाधान गर्न र हाइब्रिड वा रिमोट कामका लागि सुरक्षित कनेक्सनको व्यवस्था गर्न पनि तिनीहरूको आवश्यकता अपरिहार्य बन्दै गएको छ । यसरी प्राविधिक सपोर्ट र नेटवर्किङमा दक्ष व्यक्तिको माग हरेक दिन बढिरहेको छ ।
साइबर आक्रमणबाट डेटालाई सुरक्षित राख्न पनि नेटवर्क र आईटी सपोर्ट पेसेवरको आवश्यकता पर्दछ । यस किसिमको माग भविष्यमा अझै बढ्नेछ किनभने वर्क कल्चरमा आएको यो परिवर्तन नयाँ प्रविधिहरूको विकाससँगै निरन्तर रहनेछ ।
एआर र भीआर प्रविधि
एआर (अग्मेन्टेड रियलिटी) र भीआर (भर्चुअल रियलिटी) तीव्र रूपमा लोकप्रिय भइरहेको प्रविधिहरू हुन् । एआरले वास्तविक संसारमा डिजिटल सामग्री थप्ने सुविधा दिन्छ । जस्तै तपाईंको फोनको स्क्रिनमार्फत कुनै गेम खेल्दा तपाईं आफ्नो कोठालाई जंगलमा परिणत गर्न सक्नुहुन्छ । भीआरले भने तपाईंलाई पूर्ण रूपमा अलग संसारमा लैजान्छ । जस्तै भीआर हेडसेट लगाएर कुनै अन्य ग्रहको अनुभव गर्न सक्नुहुन्छ ।
यी प्रविधिहरू यति उपयोगी छन् कि तिनीहरूको प्रयोग गेमिङ मात्र नभई शिक्षा, स्वास्थ्य सेवा, रियल स्टेट र व्यापारमा समेत भइरहेको छ । यही कारणले थ्रीडी मोडलिङ, गेम डेभलपमेन्ट र प्रोग्रामिङ जस्ता क्षेत्रमा माग निरन्तर बढिरहेको छ ।
अर्थात् एआर र भीआर डेभलपर, थ्रीडी मोडलर, यूआई/यूएक्स डिजाइनर, गेम डेभलपर र टेक्निकल आर्टिस्ट जस्ता पेसेवरको भविष्य निकै उज्ज्वल छ ।