काठमाडौं । वर्षौंसम्म बाल संरक्षण योजनामा सामेल हुन अस्वीकार गर्दै आएको विवादित मेसेजिङ एप टेलिग्रामले अन्ततः अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था इन्टरनेट वाच फाउन्डेसन (आईडब्लूएफ) सँग सहकार्य गर्ने घोषणा गरेको छ । यस कदमले बाल यौन दुर्व्यवहार सामग्री फैलिन रोक्न मद्दत गर्ने बताइएको छ ।
टेलिग्रामका संस्थापक पावेल दुरोभलाई फ्रान्समा पक्राउ गरिएको चार महिनापछि कम्पनीले आफ्नो नीति परिवर्तन गरेको हो । आईडब्लूएफले यसलाई परिवर्तनकारी कदम भनेको छ ।
टेलिग्रामका विश्वभर करिब ९५ करोड प्रयोगकर्ता छन् । यसले लामो समयसम्म गोपनीयताका मुद्दाहरूलाई प्राथमिकता दिने दाबी गर्दै आएको थियो । तर, टेलिग्राममा लागूऔषध बिक्री, साइबर अपराध, ठगी सेवा, बाल यौन दुर्व्यवहार सामग्री जस्ता अवैध गतिविधि सञ्चालन भइरहेको उजागर भएपछि व्यापक आलोचना गरिएको थियो ।
पावेल दुरोभलाई पेरिसको विमानस्थलमा पक्राउ गरिएपछि फ्रान्सका न्यायाधीशहरूले उनलाई थप अनुसन्धानको लागि फ्रान्स छोड्न रोक लगाएका छन् । टेलिग्रामले उनको गिरफ्तारीलाई अन्यायपूर्ण भन्दै दाबी गरे पनि कम्पनीले त्यसपछि विभिन्न सुधारात्मक कदमहरू चालेको छ ।
इन्टरनेट वाच फाउन्डेसनसँगको सहकार्यले टेलिग्रामको प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । विशेषगरी रुस, युक्रेन, पूर्व सोभियत संघका देशहरू र इरानमा यो एप लोकप्रिय छ ।