काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आईसीटी अवार्डको नवौं संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आईसीटी अवार्डबीच सहकार्य सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ ।
आगामी पुस ५ गते काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजना हुने यो अवार्ड कार्यक्रममा विभिन्न १४ विधामा उत्कृष्ट योगदान गर्ने कम्पनी, स्टार्टअप र व्यक्तिहरूलाई सम्मान प्रदान गरिनेछ ।
एनसीएचएलले नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र प्रवर्द्धनमा विगत १६ वर्षदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस क्रममा नेपालपे क्यूआर सञ्चालन गरेर राष्ट्रिय स्तरमा डिजिटल भुक्तानीको अन्तरआबद्धता कायम गर्न सफल भएको छ ।
एनसीएचएलको नेपालपे क्यूआरले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर मापदण्डको कार्यान्वयन गर्दै आठ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरूलाई आफ्नो नेटवर्कमा जोडिसकेको छ । ग्राहकहरूले नेपालपे क्यूआर स्क्यान गरी ४० मोबाइल बैंकिङ एप्स, ११ वालेट एप र कनेक्टआइपीएस मार्फत सहज भुक्तानी गर्न सक्छन् ।