काठमाडौं । स्पेन सरकारले स्मार्टफोन लतको बढ्दो समस्यालाई सम्बोधन गर्न चुरोटमा जस्तै स्वास्थ्य सम्बन्धी चेतावनी राख्नुपर्ने प्रस्ताव अघि सारेको छ । एक विज्ञ समितिले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै त्यहाँको सरकारले यस्तो प्रस्ताव गरेको हो ।
२५० पृष्ठ लामो प्रतिवेदनले विशेषगरी किशोरकिशोरी र युवा वर्गमा स्मार्टफोनको बढ्दो लतले निन्द्रा, मानसिक स्वास्थ्य र व्यक्तिगत सम्बन्धहरूमा गम्भीर असर पारिरहेको तथ्य ल्याएको छ । समितिले यस अवस्थालाई ‘सार्वजनिक स्वास्थ्य महामारी’ को संज्ञा दिएको छ ।
प्रतिवेदनले तीन वर्ष मुनिका बालबालिकाका लागि डिजिटल उपकरणको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने, तीनदेखि छ वर्षका बालबालिकाका लागि सीमित प्रयोगको अनुमति दिने प्रस्ताव गरेको छ । यसैगरी १६ वर्षसम्मका किशोरकिशोरीका लागि सीमित कार्यक्षमता भएका 'डम्बफोन' मात्र दिने र १२ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा पूर्ण रोक लगाउन सिफारिस गरेको छ ।
यसका साथै शैक्षिक क्षेत्रमा समेत डिजिटल उपकरणको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने समितिको निष्कर्ष छ । विशेषगरी ‘तत्काल सन्तुष्टि’ दिने खालका शैक्षिक एपहरूको प्रयोगलाई हटाउने र प्रारम्भिक शिक्षामा परम्परागत शिक्षण विधिलाई जोड दिन प्रस्ताव गरिएको छ ।
यसैबीच अस्ट्रेलियाले हालै १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब ३० प्रतिशत किशोरकिशोरी स्मार्टफोन लतबाट प्रभावित छन् । यस्तो अवस्थामा स्पेन पनि अब अस्ट्रेलियाकै बाटोमा जाने अनुमान गरिएको छ ।