close

अमेरिकी दूरसञ्चार कम्पनीहरूमा चिनियाँ ह्याकरको हमला, नेताहरूको फोन कल जासुसी गरेको खुलासा

टेकपाना टेकपाना

मंसिर २१, २०८१ १६:५९

अमेरिकी दूरसञ्चार कम्पनीहरूमा चिनियाँ ह्याकरको हमला, नेताहरूको फोन कल जासुसी गरेको खुलासा

काठमाडौं । अमेरिकाका मुख्य दूरसञ्चार कम्पनीहरूमा चिनियाँ ह्याकिङ समूहले लामो समयसम्म साइबर आक्रमण गरी प्रमुख राजनीतिक नेताहरूको सञ्चारमा जासुसी गरेको खुलासा भएको छ । राष्ट्रपति भवनका अधिकारी अनुसार ‘साल्ट टाइफुन’ नामक ह्याकर समूहले कम्तीमा पनि आठ अमेरिकी दूरसञ्चार कम्पनीसहित विश्वका अन्य देशहरूमा दुई वर्षदेखि साइबर आक्रमण गरिरहेका छन् ।

बुधबार ह्वाइट हाउसकी उपराष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले यस ह्याकिङ अभियानको नयाँ विवरण सार्वजनिक गर्दै चिनियाँ ह्याकरहरूले केही वरिष्ठ अमेरिकी अधिकारी र राजनीतिक व्यक्तिहरूको निजी फोन वार्तालाप तथा सन्देशहरूमा पहुँच प्राप्त गरेको बताएकी छन् । 

यसअन्तर्गत अमेरिकाका एटी एण्ड टी, भेरिजोन, टी-मोबाइल, लुमेन लगायतका दूरसञ्चार कम्पनीहरूबाट सर्वसाधारणदेखि सरकारी उच्च अधिकारी र चर्चित राजनीतिज्ञहरूको डेटा चोरी भएको बताइएको छ । ह्याकरहरूले कसले, कहिले र कहाँ सम्पर्क गरे भन्ने विवरणसमेत चोरी गरेको उनले खुलाएकी छन् ।

फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र साइबर सेक्युरिटी एजेन्सीले मंगलबार यस समस्या समाधानका लागि नयाँ निर्देशन जारी गरेपछि ह्वाइट हाउसले यो ह्याकिङ अभियानबारे विस्तृत जानकारी दिएको हो ।

न्युबर्गरका अनुसार यस ह्याकबाट वरिष्ठ सरकारी अधिकारीहरूको सञ्चार प्रभावित भए पनि गोप्य जानकारी सुरक्षित रहेको बताइएको छ । तर, दूरसञ्चार कम्पनीहरूले अझै सबै ह्याकरलाई हटाउन नसकेको उनले जनाइन् ।

अमेरिकी सांसद मार्क वार्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा खतरनाक दूरसञ्चार ह्याकको संज्ञा दिएका छन् । 

घटनाको गाम्भीर्यतालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले दूरसञ्चार कम्पनीहरूको नेटवर्क सुरक्षामा सुधार र वार्षिक जोखिम व्यवस्थापन प्रोटोकल लागू गर्ने लगायतका बाध्यकारी नियमनको प्रस्ताव गरेका छन् । यस विषयमा छलफल गर्न सिनेटको एक समितिको बैठक ११ डिसेम्बरमा बोलाइएको छ ।

प्रविधि विज्ञहरूका अनुसार प्रभावित सेवाप्रदायकहरू विश्वका दर्जनौं देशमा कार्यरत रहेकाले यो घटनाको प्रभाव विश्वव्यापी हुने देखिएको छ ।

चीनले भने कुनै पनि खालको ह्याकिङ घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । चिनियाँ दूतावासले पछिल्लो अमेरिकी दाबीलाई अस्वीकार गर्दै अमेरिका आफैंले अन्य देशहरूमा साइबर हमला गर्ने गरेको आरोप लगाएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८१ १७:२६