काठमाडौं । के तपाईंलाई लाग्छ तपाईंको फोन कहिल्यै ह्याक हुँदैन ? यदि तपाईं सामान्य मानिस हुनुहुन्छ भने सुरक्षित छु भन्ने सोच्नुहुन्छ होला । तर, यो सोचाइ अब गलत हुन सक्छ ।
सुरक्षा अनुसन्धान कम्पनी आइभेरिफाईको नयाँ अध्ययनले साधारण मानिसको फोन पनि खतरनाक स्पाइवेयर पेगाससबाट ह्याक हुनसक्ने देखाएको छ । यसअघि राजनीतिज्ञ, पत्रकार, ठूला व्यवसायी लगायत हाई प्रोफाइल व्यक्ति मात्र यस्तो खतरामा थिए । पछिल्लो अनुसन्धानले साधारण मानिसहरू पनि पेगाससको चपेटामा पर्नसक्ने चेतावनी दिएको छ ।
गत मे महिनामा आइभेरिफाईले आफ्ना ग्राहकका लागि सञ्चालन गरेको 'मोबाइल थ्रेट हन्टिङ' अभियानबाट पेगाससजस्तो खतरनाक स्पाइवेयर पत्ता लागेको हो । कम्पनीले २५०० डिभाइसमा गरेको प्रारम्भिक जाँचका क्रममा सात डिभाइसमा पेगासस संक्रमण पत्ता लगाएको बताएको छ । यो संख्या सानो भएपनि मोबाइल सुरक्षा क्षेत्रमा ठूलो चिन्ताको विषय भएको कम्पनीले उल्लेख गरेको छ ।
यसअघि अधिकांश सुरक्षा अनुसन्धानहरू विशेष खाता भएका व्यक्तिहरूसम्म मात्र सीमित थिए । आइभेरिफाईले सामान्य मानिसका लागि समेत 'मोबाइल थ्रेट हन्टिङ' सुविधा ल्याएको छ । यसबाट स्मार्टफोन प्रयोगकर्ताले पाँच मिनेटमै आफ्नो डिभाइसको सुरक्षा जाँच गर्नसक्ने बताइएको छ ।
“यो प्रक्रिया साधारण थ्रेट स्क्यानिङ होइन, बल्कका सबै प्रकारका मालवेयर र उच्च स्तरका ह्याकरहरूको निगरानी गर्नका लागि बनाइएको समाधान हो,” कम्पनीले भनेको छ ।
पेगाससले के गर्छ ?
पेगासस यस्तो शक्तिशाली स्पाइवेयर ((जासुस सफ्टवेयर)) हो, जसले तपाईंको फोनमा पसेर मेसेज, ईमेल, तस्बिर, कल रेकर्डजस्ता महत्त्वपूर्ण जानकारी चोर्न सक्छ । यो सफ्टवेयरले एन्ड्रोइड र आइओएस दुवै डिभाइसलाई प्रभावित पार्न सक्छ र आफूलाई कुशलतापूर्वक डिभाइसमै लुकाउन सक्छ । यसलाई पत्ता लगाउन परम्परागत पद्धति असफल हुने बताइन्छ ।
बच्न के गर्ने?
फोन सधैं अपडेट राख्नुहोस्: पुराना सफ्टवेयरमा जोखिम बढी हुन्छ, त्यसैले समयमै अपडेट गर्नुहोस् ।
अज्ञात लिङ्क नखोल्नुहोस्: अञ्जानबाट आएको लिङ्कले स्पाइवेयर भित्र्याउन सक्छ, यसकारण सतर्क हुनुहोस् ।
सुरक्षा सफ्टवेयर प्रयोग गर्नुहोस्: आफ्नो डिभाइसलाई सुरक्षित राख्न नियमित स्क्यान गर्ने एप तथा एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस् ।
शङ्कास्पद मेसेजबाट जोगिनुहोस्: अञ्जान नम्बरबाट आएका मेसेजहरू कहिल्यै क्लिक नगर्नुहोस् ।