काठमाडौं । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईले आफ्नो च्याटबट ‘ग्रोक’ सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराएको छ । यसअघि यो सेवा सामाजिक सञ्जाल एक्सका प्रिमियम सदस्यहरूका लागि मात्रै उपलब्ध थियो ।
कम्पनीले ग्रोकलाई नि:शुल्क बनाए पनि यसमा केही सीमितता छन् । निःशुल्क संस्करणमा प्रयोगकर्ताले ग्रोकलाई दुई घण्टामा अधिकतम १० प्रश्न सोध्न सक्नेछन् भने दिनमा तीन ओटा फोटो विश्लेषण र चार ओटा फोटो सिर्जना गर्न सक्नेछन् ।
एक्सका प्रिमियम (७ डलर) र प्रिमियम प्लस (१४ डलर) सदस्यता लिएका प्रयोगकर्ताले ग्रोकमा बढी पहुँच पाउनेछन्, जसमा प्रतिदिन ५० प्रश्नसम्म सोध्न सकिन्छ भने उच्चस्तरका वास्तविक जस्तै लाग्ने फोटोहरू तयार पार्न सकिन्छ ।
ग्रोकले प्रयोगकर्ताहरूलाई विभिन्न विषयमा जानकारी लिन, अनुसन्धान गर्न, कोडिङ सहयोग लिन तथा व्यवसायका लागि ग्राहक सेवाको उत्तर दिन सघाउँदै आएको छ ।
निःशुल्क संस्करणका सन्दर्भमा एक्सएआईले आधिकारिक रूपमा नखुलाएपनि प्रयोगकर्ताहरूले प्रिमियम सदस्यताबिनै ग्रोकमा पहुँच प्राप्त गर्न थालेका छन् । कम्पनीको नयाँ कदमसँगै च्याटजीपीटी, जेमिनाई, कोपाइलट लगायतका अन्य च्याटबटसँग प्रतिस्पर्धा गर्न ग्रोक तयार भएको बुझिएको छ ।
हालसम्म ग्रोकको प्रयोगकर्ता संख्या सार्वजनिक गरिएको छैन । विभिन्न अनौपचारिक स्रोतले यसमा लाखौंमा प्रयोगकर्ता रहेको उल्लेख गरेका छन् । निःशुल्क संस्करणको सुरुवातले प्रयोगकर्ता अझ बढ्ने विश्लेषण गरिएको छ ।