काठमाडौं । जापानको एक कम्पनीले ‘मिराई निङ्गेन सेन्टाकुकी’ अर्थात् ‘मान्छे धुने मसिन’ सार्वजनिक गरेको छ । जापानको ‘साइन्स कम्पनी’ नामक कम्पनीले हालै मात्र एक मसिनको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
“हामीले मसिन निर्माण गर्ने काम ७० प्रतिशत पुरा गरिसक्यौँ,” कम्पनीका अध्यक्ष यासुआकी आयोयामाले स्थानीय सञ्चारमाध्यम अशाही शिमबुनसँगको कुराकानीमा भने ।
कम्पनीका अनुसार यस मसिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्टिग्रेट गरिएको छ । त्यस्तै यसमा अत्याधुनिक पानीको फोहोराको प्रयोग गरिएको छ । कम्पनीका इन्जिनियरका अनुसार यसबाट आउने पानीले शरीर पूर्ण रूपमा सफा गर्नुका साथै तरोताज महसुस गराउँछ ।
ओसाका सहरमा रहेको ‘साइन्स कम्पनी’का अनुसार यस डिभाइसले प्रयोगकर्ताको शरीर विश्लेषण गरी १५ मिनेटमा धुन्छ । र, सुकाउने प्रक्रिया पुरा गर्छ । शरीर धुने क्रममा यसले उच्च गतिको पानीको फोहोरासँगै साना हावाका फोका प्रयोग गर्छ ।
सामाजिक सञ्जालमा पछिल्ला दिनदेखि यसको खुबै चर्चा भइरहेको छ । केही प्रयोगकर्ताले यस मसिनले उद्योगमा संवेदनशील टुल सफा गर्न प्रयोग गरिने प्रविधिको झल्को दिएको बताएका छन् ।
सन् २०२५ मा ओसाकामा हुने कान्साई एक्स्पोमा एक हजार आगन्तुकले यो मान्छे धुने मसिनको अनुभव लिन सक्ने बताइएको छ । यसमा समावेश गरिएको एआईले प्रयोगकर्ताको भावनात्मक अवस्था मूल्याङ्कन गरी शान्त र सुखद अनुभव प्रदान गर्ने इन्जिनियरको विश्वास छ ।
अहिले पानासोनिक बनेको सन् १९७० दशकको स्यानो इलेक्ट्रिक कम्पनीले पनि यस्तै डिभाइस निर्माण गरेको थियो । साइन्स कम्पनीले यो नयाँ मसिन स्यानो इलेक्ट्रिक कम्पनीले तयार पारेको मसिनबाट प्रभावित भई निर्माण गरेको जनाएको छ ।