close

बजारमा नयाँ विद्युतीय कार ल्याउँदै साओमी, केके होलान् फिचर ?

टेकपाना टेकपाना

मंसिर २५, २०८१ ११:१८

बजारमा नयाँ विद्युतीय कार ल्याउँदै साओमी, केके होलान् फिचर ?

काठमाडौं । साओमी ल्याउने आगामी विद्युतीय सवारीको मोडेल र फिचर सार्वजनिक भएको छ । चिनियाँ सरकारी निकाय एमआईआईटीको लिस्टिङ मार्फत साओमीको नयाँ विद्युतीय एसयूभी 'वाईयू सेभेन'का विवरण बाहिर आएका छन् ।

कम्पनीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा औपचारिक घोषणा गर्दै यो गाडी २०२५ को जुनदेखि जुलाईको बीचमा बजारमा ल्याउने जानकारी दिएको छ । 

वाईयू सेभेनमा दुई ओटा पावरट्रेन विकल्प हुनेछ, जसमा २२‍० किलोवाट र २८‍८ किलोवाट क्षमताका मोटरहरू समावेश गरिनेछ । यसमा प्रयोग हुने ब्याट्री सीएटीएल कम्पनीले आपूर्ति गर्नेछ, तर यसको क्षमताबारे जानकारी खुलाइएको छैन ।

गाडीको आकार ४,९९९ मिमि लम्बाइ, १,९९६ एमएम चौडाइ, र १,६०० एमएम उचाइ रहनेछ । ह्वीलबेस ३,००० मिमि छ भने गाडीको तौल २,४०५ केजी रहनेछ ।

स्मार्टफोन उत्पादनमा चर्चा कमाएको साओमी पछिल्लो समय ईभी उद्योगतर्फ अग्रसर भइरहेको छ । यसका लागि कम्पनीले आफ्नो बेइजिङस्थित कारखानाको विस्तार गर्ने कामलाई प्राथमिकता दिएको छ । 

साओमीले सन् २०२१ मा बेइजिङको यिज्वाङमा आफ्नो पहिलो ईभी उद्योग स्थापना गरेको थियो । यो उद्योग स्मार्टफोन उत्पादनसँगै ईभी उत्पादनमा पनि कम्पनीको उपस्थिति विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको थियो ।

साओमीले हालसम्म एसयु-७ नामक इलेक्ट्रिक सेडानको उत्पादन गरिसकेको छ । यो मोडेलले चिनियाँ बजारमा राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८१ ११:५९