काठमाडौं । गुगल म्यापको फ्युल सेभिङ अर्थात् इन्धन जोगाउने फिचर नेपालमा पनि उपलब्ध भएको छ । प्रारम्भिक चरणमा सेप्टेम्बर २०२२ मा अमेरिका, क्यानडा र युरोपका लागि उपलब्ध सो फिचर अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको हो । यो फिचरले प्रयोगकर्ताको इन्जिनको प्रकारको आधारमा इन्धन खपतको अनुमान अथवा ऊर्जा किफायती विभिन्न रुटहरू उपलब्ध गराउँछ । रियल-टाइम (तत्कालको) ट्राफिक र सडकको अवस्थालाई विचार गरी एपले छिटो पुग्न सकिने र इन्धन पनि जोगिने उपयुक्त रुट निर्धारण गर्छ । यसको अर्थ एपले छिटो पुग्न सकिने रुटको अलावा अधिकतम इन्धन तथा ऊर्जा किफायती विकल्प दिने गर्छ ।
यो फिचर डिसेबल गर्दा भने गुगल म्यापले इन्धन जोगाउने कुरा बेवास्ता गर्दै छिटो पुग्न सकिने रुटमात्रै उपलब्ध गराउँछ । यद्यपि प्रयोगकर्ताका लागि वैकल्पिक रुटसँगै एउटा हरियो पातको आइकनले सबैभन्दा इन्धन तथा ऊर्जा किफायती रुट हाइलाइट गरेर देखाउँछ । प्रयोगकर्ताहरूले गुगल म्याप एपको सेटिङमा गएर यो फिचर सहजै प्रयोग गर्न सक्छन् ।
कसरी प्रयोग गर्ने यो फिचर ? सामान्यतया तपाईँले गुगल म्यापमा कुनै गन्तव्य छनोट गरेर डिरेक्सनमा जानु भयो भने दुरी र लाग्ने समयसँगै मुनि पट्टि एउटा हरियो पातको आइकनमा कति इन्धन बचत हुन्छ भन्ने कुरा देखाउँछ । इन्जिन टाइपमा गएर तपाईँले आफ्नो सवारीको प्रकारको रूपमा पेट्रोल, डिजेल, हाइब्रिड वा इलेक्ट्रिक मध्ये कुनै एक विकल्प छान्न सक्नु हुन्छ ।
- यदि तपाईँले आफ्नो गुगल म्यापमा यो फिचर भेट्नु भएन भने भने माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल आइकनमा जानुहोस् ।
- अब सेटिङभित्र गएर नेभिगेसन सेटिङमा थिच्नुहोस् । केही तल स्क्रोल गर्नुहोस् र रुट अप्सन अन्तर्गत रहेको Prefer fuel-efficient routes विकल्पको टोगल/बटन अन गर्नुहोस् ।
- त्यससँगै मुनितिर रहेको योर भेहिकलमा दबाउनु भयो भने त्यहाँ इन्जिनको प्रकार (पेट्रोल, डिजेल, हाइब्रिड वा इलेक्ट्रिक) छान्ने विकल्प खुल्छ ।
- यति गरिसकेपछि अब तपाईँको गुगल म्यापमा इन्धन जोगाउने तथा ऊर्जा किफायती रुटहरू देखिनेछन् ।
सवारीको इन्जिनको प्रकारले इन्धन किफायती अर्थात् इन्धन जोगाउने रुटको विकल्प फरक पर्न सक्छ । उदाहरणको लागि डिजेल इन्जिन गाडीको हकमा हाइवेमा चलाउँदा राम्रो माइलेज पाउन सकिन्छ । जब कि हाइब्रिड तथा इलेक्ट्रिक सवारीको हकमा भने सहरका चोकमा रोकिँदै जाने अथवा पहाडी वा उकालो ओरालो सडकको आधारमा रिजेनेरेटिभ ब्रेकिङको लाभ लिन सकिनेगरी रुट सुझाउन सक्छ ।
यहाँनिर ध्यान दिनु पर्ने कुरा के छ भने यदि तपाईँले कुनै इन्जिनको प्रकार छान्नु भएन भने गुगल म्यापले डिफल्ट रूपमा पेट्रोल इन्जिन राखेको हुन्छ । गुगलका अनुसार धेरैजसो देशहरूमा यही प्रकारका सवारी साधन बढी मात्रामा गुड्ने भएकाले यसैलाई आधार बनाइएको हो । यदि तपाईँसँग ईभी छ भने विद्युतीय सवारीका लागि ऊर्जा किफायती रुटहरूमा चार्जिङ स्टप वा सेन्टरहरू समावेश गरिएका हुँदैनन् ।