close

बाई-बाई सुपरकम्प्युटरः अब गुगलको क्वान्टम चिपले करोडौं वर्ष लाग्ने काम ५ मिनेटमै सकिदिने

टेकपाना टेकपाना

मंसिर २५, २०८१ १३:१३

बाई-बाई सुपरकम्प्युटरः अब गुगलको क्वान्टम चिपले करोडौं वर्ष लाग्ने काम ५ मिनेटमै सकिदिने

काठमाडौं । गुगलको क्वान्टम कम्प्युटिङ ल्याबले चिप विकासमा ठूलाे सफलता हासिल गरेको छ । सोमबार ब्लगमार्फत् गुगलले आफ्नो नयाँ क्वान्टम चिप ‘विल्लो’ (Willow) ले विश्वकै शक्तिशाली सुपरकम्प्युटरलाई १० सेप्टिलियन वर्ष (१० को पछाडि २५ शून्य) लाग्ने कम्प्युटिङ समस्या पाँच मिनेटभन्दा कम समयमा समाधान गर्न सक्ने जनाएको हो ।

गुगलका अनुसार यो नयाँ चिपले सुपरकम्प्युटरले ब्रह्माण्डको आयु बराबर समय लाग्ने समस्यालाई झन् तीव्र रूपमा हल गर्न सक्छ । यसअघि, सन् २०१९ मा गुगलले आफ्नो क्वान्टम प्रोसेसरले एउटा जटिल गणितीय समीकरण तीन मिनेटमा हल गर्न सक्ने दाबी गरेको थियो, जुन सुपरकम्प्युटरलाई १० हजार वर्ष लाग्ने बताइएको थियो । तर, आईबीएमले गुगलको उक्त दाबीलाई गलत र विवादित भनेको थियो ।​

क्वान्टम कम्प्युटिङमा त्रुटि कम गर्न गुगलका अनुसन्धानकर्ताहरूले महत्त्वपूर्ण प्रगति गर्दा यस्तो सफलता पाउन सकेका हुन् । क्वान्टम कम्प्युटिङमा प्रयोग गरिने क्युबिट्स (qubits)ले १ र ० मात्र नभई दुवै बीचको स्थिति समेत प्रतिनिधित्व गर्न सक्छ । तर ती क्युबिट्सले द्रुत गतिमा सूचना आदानप्रदान गर्ने भएकाले गल्ती गर्छन् ।

यही समस्या समाधान गर्न गुगलले क्युबिट्स थप गरेर तिनीहरूको त्रुटि 'रियल टाइम' मा सुधार्ने उपाय पत्ता लगाएको हो । यसलाई क्वान्टम कम्प्युटिङको क्षेत्रमा 'बिलो थ्रेसहोल्ड' (below threshold) भनिन्छ । गुगल क्वान्टम एआईका संस्थापक हार्टमुट नेभेनका अनुसार त्रुटि सुधार गर्दै क्युबिट्सको संख्या बढाउनु महत्त्वपूर्ण प्रगति हो ।

अहिले विल्लो चिपमा १०५ क्युबिट्स रहेका छन् । गुगलले यस चिपलाई हालसम्मकै सबैभन्दा शक्तिशाली चिपको रूपमा प्रस्तुत गरेको छ । त्यस्तै चिपबारेको अनुसन्धान प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित गरिएको छ । अब यस प्रकारको चिप एआईका लागि डेटा सङ्कलन गर्न, नयाँ औषधिको खोज गर्न, ब्याट्रीको डिजाइन आदि काम गर्न प्रयोग हुने बताइएको छ ।

तर बजारमा गुगलसँगै माइक्रोसफ्ट, अमेजन, आईबीएम लगायतका कम्पनीहरूले समेत क्वान्टम कम्प्युटिङ प्रणालीमा काम गरिरहेका छन् ।

सरल रूपमा यसरी बुझ्नुहोस् क्वान्टम कम्प्युटर र यसको काम

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८१ १४:३