काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री फेर्न लाग्ने उच्च लागतकै कारण धेरै प्रयोगकर्ताले ईभी प्रयोग गर्न हिचकिचाउने गरेका छन् । सामान्यतः ईभी प्रयोगमा आएको ८-१० वर्षपछि ब्याट्री फेर्नुपर्ने अवस्था आउँछ, जसको मूल्य गाडीको मूल्यकै हाराहारीमा हुन सक्छ । यही कारण धेरै उपभोक्ता रहर भएपनि इन्धनयुक्त गाडीमै चित्त बुझाउँछन् ।
ईभी र ब्याट्रीको डेटा उपलब्ध गराउने स्टार्टअप रिकरेन्टले हालै एक रिपोर्ट प्रकाशित गर्दै इन्धनयुक्त गाडीको इन्जिन फर्नुभन्दा ईभीको ब्याट्री फेर्न सस्तो पर्ने देखाएको छ । उक्त रिपोर्टले सन् २०३० पछि ब्याट्रीको लागत इन्जिन मर्मत गर्नुभन्दा कम हुने दाबी गरेको छ ।
“२०२० देखि २०२३ को अवधिमा हरित मुद्रास्फीतिका कारण लिथियम र कोबाल्टजस्ता धातुको मूल्य घटिरहेको छ, जसले ब्याट्रीको मूल्यमा झन्डै ४० प्रतिशतको कमी ल्याएको छ,” उक्त रिपोर्टमा लेखिएको छ ।
अर्थात् ईभीका लागि उपयुक्त ब्याट्री प्याकको मूल्य घट्दै र पेट्रोल गाडीको इन्जिन मर्मत शुल्क बढ्दै गएको अवस्था विश्लेषण गरी उक्त स्टार्टअपले यस्तो भविष्यवाणी गरेको हो । रिकरेन्टका अनुसार सन् २०२० मा ब्याट्री फेर्ने १५ हजार डलर (करिब २० लाख रुपैयाँ) लाग्थ्यो । यो भनेको त्यतिबेलाको प्रयोगमा आइसकेको गाडीको भ्यालुएसन बराबरको मूल्य हो ।
यदि यही प्रवृत्ति कायम रह्यो भने सन् २०३० सम्ममा ब्याट्री फेर्ने लागत १५ हजार डलर भ्यालुएसन भएको गाडीको मूल्यको केवल ३० प्रतिशतमा सीमित हुनेछ ।
अमेरिकी ऊर्जा विभागका अनुसार अहिलेको ईभी ब्याट्रीको लागत २००८ को तुलनामा ९० प्रतिशतले घटिसकेको छ । यसबारेमा गोल्डम्यान साच्स र रकी माउन्टेन इन्स्टिच्युटका अध्ययनले पनि ठोस तथ्याङ्क प्रस्तुत गरेका छन् ।
गोल्डम्यान साच्सको प्रतिवेदनले सन् २०३० सम्म ईभी ब्याट्रीको प्रति किलोवाट आवर मूल्य ६४ डलर पुग्ने अनुमान गरेको छ, जबकि रकी माउन्टेन इन्स्टिच्युटका अनुसार यो मूल्य ४५ देखि ६५ डलरबीच रहनेछ ।
यो क्रममा सन् २०२४ मा सीएटीएलले ५६ डलर प्रति किलोवाट आवरमा एलएफपी सेलहरू उपलब्ध गराउन सुरु गरेको थियो, जसलाई बीवाईडीले पनि पछ्याएको थियो । यसैबीच क्लिन इनर्जी एसोसियट्सले सन् २०२८ सम्म लिथियम-आयन ब्याट्रीहरूको आपूर्ति विश्व बजारमा बढी हुने भविष्यवाणी गरेको छ, जसले ब्याट्री मूल्य अझै कम हुने संकेत गर्दछ ।
प्रविधिमा भएको तीव्र सुधार र लागत घटाउने प्रवृत्तिका कारण विद्युतीय सवारी साधनहरूलाई अब उपभोक्ताले झन् सहज रूपमा अपनाउन सक्ने देखिएको छ । पेट्रोल गाडीको इन्जिन मर्मतभन्दा ईभीको ब्याट्री फेर्ने विकल्प सस्तो र वातावरणमैत्री हुने हुँदा यसले विद्युतीय सवारीको बजारलाई थप बल पुऱ्याउने विश्वास गरिएको छ ।