काठमाडौं । भारतका एक सफ्टवेयर इन्जिनियरले आत्महत्या गरेका छन् । बैङ्गलोरमा बस्ने ३४ वर्षीय अतुल सुवाशले ९० मिनेटको भिडिओ र २४ पेजको सुसाइड नोट लेख्दै सोमबार आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल एक्समा ती सफ्टवेयर इन्जिनियरले आफ्नो भिडिओको लिङ्क शेयर गरेका थिए । सो पोस्टमा उनले टेस्ला एवम् एक्सका मालिक एलन मस्कसहित अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेन्सन गरेका थिए । उनले भनेका थिए, “तपाईंहरूले यो पढ्दासम्म म मरिसकेको हुनेछु । भारतमा हाल पुरुषहरूको कानुनी नरसंहार भइरहेको छ ।”
उक्त पोस्ट अन्तिम पटक पुनः कोट रिपोस्ट गर्दै सुवाशले भनेका थिए, “एक मृत व्यक्तिले एलन मस्क र डोनाल्ड ट्रम्पलाई उनीहरूले जागरूक विचारधारा (Woke Ideologies), गर्भपतन, विविधता, समानता तथा समावेशीकरण (DEI-Diversity, Equity, Inclusion) बाट लाखौंको जीवन बचाउन र भारतमा अभिव्यक्ति स्वतन्त्रता पुनःस्थापना गर्न कदम चालून् भनी निवेदन गरेको छ ।”
सुवाशले भिडिओमा आफ्नी पत्नी र उनको माइती परिवारले अस्वाभाविक मुद्दाको आडमा जबर्जस्ती रकम असुली र दुःख दिएको आरोप लगाएका छन् । सुवाशको परिवारले भारतीय सञ्चारमाध्यमलाई भने अनुसार उनी विगत लामो समयदेखि त्यही घटनाले गम्भीर तनावमा थिए । मुद्दा मिलाउनकै लागि उनी ४० पटकभन्दा बढी अदालत गएका थिए । विभिन्न अदालतमा उनकी श्रीमतीले नौभन्दा भढी मुद्दा दायर गरेको सुवाशले भिडिओमा उल्लेख गरेका छन् ।
यस घटनाले भारतको कानुनी संरचनामा पुरुषको अधिकार र प्रणालीगत असमानताका विषयमा राष्ट्रव्यापी बहस निम्त्याएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सुवाशले न्याय पाउनुपर्ने माग राखिरहेका छन् ।
सुवाशले आत्महत्यामा उनकी श्रीमती, माइती परिवार र वकिल जिम्मेवार भएको भन्दै सुवाशका भाइ विकास कुमारले चार जना विरुद्ध एफआईआर दर्ता गरेका छन् ।
सुवाश र उनकी श्रीमती निकिता सिंघानियाको सन् २०१९ मा जोडी मिलाइदिने (म्याच मेकिङ) साइटमा भेट भएको थियो । त्यसपछि उनीहरू विवाह बन्धनमा बाँधिएका थिए । सुवाशका भाइको उजुरीपछि प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।