close

नेपाली वेब होस्टिङ कम्पनीले ल्यायो डोमेन नेम फेला पारिदिने एआई टुल, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

मंसिर २६, २०८१ १५:०

नेपाली वेब होस्टिङ कम्पनीले ल्यायो डोमेन नेम फेला पारिदिने एआई टुल, कसरी गर्ने प्रयोग ?

काठमाडौं । नेपाली वेब होस्टिङ कम्पनी ‘स्टेबल क्लस्टर’ले डोमेन नेम फेला पार्न सघाउने एआई टुल सार्वजनिक गरेको छ । हालै मात्र कम्पनीले आफ्नो सिस्टममा एआई इन्टिग्रेट गरी यस्तो फिचर थपेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमोद यादवका अनुसार नेपालमा यस्तो फिचर ल्याउने स्टेबल क्लस्टर नै पहिलो कम्पनी हो । “व्यक्तिले आफ्नो बिजनेस आइडिया लेखेको भरमा उसलाई उपयुक्त हुने डोमेन नेम सुझाव दिने टुल ल्याएका छौं,” टेकपानासँग यादवले भने, “सुझाव दिएको सबै नाम उपलब्ध छन् कि छैनन् भन्ने तत्कालै थाहा हुन्छ ।”

यस फिचरका लागि आफूहरूले नै एआई मोडेललाई तालिम दिएको उनले बताए । “अब नयाँ भर्सनमा हामी केही प्रचलित नेपाली शब्दहरू राखेर त्यसैका आधारमा नेपालीपन झुल्किने नाम सजेस्ट गर्ने फिचर ल्याउनेछौं,” उनले थपे ।  

यस अन्तर्गत डटकम, डटनेट, डटअर्ग, डटइन्फो, डटएआई, डट आईओ, डटएप लगायतका एक्सटेन्सनसहित डोमेन नेम लिन सकिन्छ । बजारमा डोमेन नेम सुझाव गरिदिने धेरै एआई टुल भए पनि सोही पेजमा तत्कालै डोमेन नेम उपलब्ध भए/नभएको देखाउने निकै कम साइट भएको यादवले सुनाए ।

एआईले सुझाएका डोमेन नेम नेपालमै भुक्तानी गरेर तत्काल खरिद गर्न सकिने सेवा उपलब्ध गराउने प्लेटफर्महरूको अभाव भएको अवस्थामा आफूहरूले यो सेवा सुरु ल्याएको उनले बताए ।

कसरी प्रयोग गर्ने यो टुल ?

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर स्टेबल क्लस्टरको वेबसाइटको डोमेन सेक्सनमा जानुहोस् ।  

  • यदि फोनबाट प्रयोग गर्दै हुनुहुन्छ भने माथि रहेको एआई मोडको अप्सन अन गर्नुपर्ने हुन्छ । यदि डेस्कटप भर्सनमा हुनुहुन्छ भने तलपट्टि ‘जेनेरेट डोमेन युजिङ एआई’ (Generate Domain Using AI) भन्ने अप्सनमा जानुपर्ने हुन्छ । 

  • त्यसपछि आफ्नो व्यवसायको बारेमा लेखेर मलाई यस्तो किसिमको डोमेन चाहिएको छ भनेर उल्लेख गर्नुहोस् ।

  • त्यसपछि तलपट्टि देखिने ‘जेनेरेट विथ एआई’को बटन ट्याप गर्नुहोस् । 

  • यति गरेपछि उपलब्ध डोमेन नेमको देख्न सकिन्छ । आफूले चाहेको डोमेन नेमका पछि रहेको रजिस्टरको अप्सनमा ट्याप गरी डोमेन दर्ता गर्न सक्नुहुन्छ ।

ब्ल्याक फ्राइडे र नयाँ वर्ष २०२५ को अवसरमा डोमेन र होस्टिङमा केही छुट दिइरहेको सीईओ यादवले बताए । यादवका अनुसार  उपलब्ध डोमेन नेम उक्त प्लेटफर्मबाट नेपाली डिजिटल वालेट ईसेवा र खल्ती तथा कनेक्ट आईपीएसबाटै भुक्तानी गरी लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८१ १५:१६