close

च्याटजीपीटीमा नि:शुल्क आयो ‘क्यानभास’ फिचर, कसका लागि उपयोगी ?

टेकपाना टेकपाना

मंसिर २७, २०८१ ९:३६

च्याटजीपीटीमा नि:शुल्क आयो ‘क्यानभास’ फिचर, कसका लागि उपयोगी ?

काठमाडौं । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताका लागि ‘क्यानभास’ फिचर नि:शुल्क उपलब्ध गराएको छ । लेखन र कोडिङका लागि उपयोगी मानिएको यस फिचर 'ट्वेल्भ डेज अफ ओपनएआई' अभियानअन्तर्गत सबैका लागि उपलब्ध गराइएको हो । 

यसअघि क्यानभास एडिटिङ टुल च्याटजीपीटी प्लस, टिम्स, एडु र इन्टरप्राइज सब्सक्राइबरलाई मात्र उपलब्ध थियो । अब नि:शुल्क प्रयोगकर्ताले पनि टेक्स्ट लेख्ने ठाउँको छेउमा नयाँ विकल्प देख्न सक्छन् । त्यसमा क्लिक गर्दा ‘पिक्चर’, ‘सर्च’, ‘क्यानभास’ जस्ता विकल्प देखिन्छन्, जसबाट प्रयोगकर्ताले सजिलै क्यानभास चलाउन सक्छन् ।

क्यानभासमा नयाँ इन्टरफेस समावेश छ, जसले प्रयोगकर्तालाई च्याटबक्ससँगै सम्पादनका लागि नयाँ विन्डो प्रयोग गर्न सक्षम बनाउँछ । यसमा म्यानुअल्ली टेक्स्ट अथवा कोड परिवर्तन गर्न, कुनै भाग हाइलाइट गर्न वा टुललाई परिमार्जन गर्न सकिन्छ ।

क्यानभासले पाइथन कोडको प्रत्यक्ष परीक्षण गर्न सक्ने सुविधा पनि दिएको छ । प्रयोगकर्ताले कोड पेस्ट गर्दा स्वचालित रूपमै क्यानभास खुल्छ, जसले पहिलेजस्तो कोड बाहिरै रन गर्नुपर्ने बाध्यता हटाएको छ । यसले कोड डिबगिङ, चार्ट वा वेब एप्लिकेसन डेभलप गर्ने प्रक्रिया थप सजिलो बनाउने कम्पनीको भनाइ छ ।

ओपनएआईले क्यानभासलाई जीपीटी फोरओ (GPT-4o) सँग पनि एकीकृत गरेको छ । यसले विशिष्ट प्रम्प्टहरूमा स्वचालित रूपमा क्यानभास खोल्ने सुविधा दिन्छ । 

'ट्वेल्भ डेज अफ ओपनएआई' अन्तर्गत ओपनएआईले यसअघि नै च्याटजीपीटी प्रो, सोरा टर्बो र अन्य नयाँ फिचर तथा सब्सक्रिप्सन प्लान सार्वजनिक गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८१ ११:३६