काठमाडौं । अन्य भाषामा तयार गरिएका ज्ञानवर्द्धक भिडिओलाई युट्युबले अब स्वतः डबिङ गरिदिने भएको छ । विश्वकै सबैभन्दा ठूलो भिडिओ शेयरिङ प्लेटफर्म युट्युबले मंगलवार एक ब्लग पोस्टमार्फत लाखौं च्यानलमा अटो डबिङ फिचर विस्तार गरिएको जानकारी दिएको हो ।
यो फिचर लागू भएपछि जानकारीमूलक (जस्तै: खाना पकाउने, कपडा सिलाउने आदि) भिडिओ निर्माण गर्ने च्यानलहरूमा स्वतः उपलब्ध हुनेछ । यसका लागि क्रियटरले सामान्य अवस्थाझैं भिडिओ अपलोड गरेपछि युट्युबले स्वतः सो भिडिओको भाषा पत्ता लगाई अन्य भाषामा डब गरिएका संस्करण तयार पार्नेछ ।
हाल यो फिचरले अंग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, इन्डोनेसियन, इटालियन, जापानी, पोर्चुगिज र स्पेनिश भाषालाई सपोर्ट गर्ने बताइएको छ ।
युट्युबले डबिङका लागि जेमिनाई एआई प्रविधि प्रयोग गरिरहेको छ, जसले डबिङलाई वास्तविक आवाजजस्तै बनाउन मद्दत पुर्याउँछ । तर, यो प्रविधि अझै विकासको प्रारम्भिक चरणमा रहेकोले डबिङ पूर्ण रूपमा सही नहुन सक्ने स्वीकारिएको छ । यसलाई थप सटीक बनाउन निरन्तर सुधार गर्ने युट्युबले जनाएको छ ।