काठमाडौं । सिलिकन भ्याली भन्ने वित्तिकै धेरैलाई अत्याधुनिक प्रविधि र संसारभर चर्चित कम्पनीहरूको ठेगाना सम्झना हुन्छ । यो सहरले एप्पल, गुगल, फेसबुक (मेटा), इन्टेल, टेस्ला जस्ता दर्जनौं दिग्गज कम्पनी जन्माएको छ । तर, सामान्य देखिने यो सहर कसरी प्रविधिको केन्द्रबिन्दु बन्यो ? यसको रहस्य बुझ्न इतिहास फर्केर हेर्नुपर्ने हुन्छ ।
सिलिकन भ्यालीको सफलताको जरा विश्वविद्यालयहरूमा लुकेको छ । यहाँका स्ट्यानफोर्ड, यूसी बर्कले, क्यालटेकजस्ता इन्जिनियरिङ स्कुलहरूले प्रारम्भिक सेमिकन्डक्टर कम्पनीहरूदेखि एप्पल र इन्टेलजस्ता दिग्गजलाई मानव स्रोत उपलब्ध गराएका छन् । तर, यो मात्र कारण होइन । सिलिकन भ्यालीले सफलताको आधार भेन्चर क्यापिटालिस्टहरूको सहयोग र उद्यमीहरूको जोखिम उठाउने सोचलाई बनायो ।
अमेरिकाको अर्को सहर बोस्टन पनि प्रविधिको विकासमा उत्तिकै महत्त्वपूर्ण छ । यस क्षेत्रमा एमआईटी र हार्वर्ड जस्ता विश्वविद्यालयहरू हुनाले डीईसी, वाङ्ग लगायतका अन्य धेरै प्रविधि कम्पनीहरूको जन्म भएको छ ।
बोस्टनको पतन र सिलिकन भ्यालीको उदय
इतिहास हेर्दा पर्सनल कम्प्युटर (पीसी) को आगमनसँगै बोस्टनले प्रविधि हबको आफ्नो गति गुमाएको देखिन्छ । उता सिलिकन भ्यालीमा स्थापित कम्पनीहरूले पीसी क्रान्तिलाई मज्जैले अङ्गाले । विश्वको पहिलो व्यावसायिक वेब ब्राउजर नेटस्केप सहित याहू, गुगल, एप्पलले पीसीलाई अघि बढाउन भूमिका खेले । यसैले त भर्खरै जन्मेको एआई कम्पनी ओपनएआईदेखि गुगल, एप्पलसम्मले सिलिकन भ्यालीलाई आफ्नो घर भन्ने अवस्था सिर्जना भएको छ ।
तर सिलिकन भ्याली अहिलेको जस्तो हुनु पीसी मात्र कारण होइन । त्यहाँका भेन्चर क्यापिटालिस्ट र जोखिम उठाउने उद्यमीहरूको संस्कार सबैभन्दा प्रमुख कारण हो । सिलिकन भ्याली फस्टाउँदै गर्दा र बोस्टनको प्रविधि क्षेत्र कमजोर हुँदै जाँदाको अवस्थालाई नजिकबाट अध्ययन गरेका इतिहासकार माइकल एस. म्यालोनले जोखिम उठाउने कारणलाई नै सिलिकन भ्यालीको सफलताको प्रमुख साँचो मान्छन् ।
उनका अनुसार बोस्टनका कुनै इन्जिनियर वा आविष्कारकसँग राम्रो आइडिया हुन्थ्यो भने पनि उनीहरू आफ्नो पैसा लगानी गर्न अनिच्छुक हुन्थे । अनि त्यस आइडियामाथि साथी वा परिवारसँग लगानी माग्न पनि डराउँथे । तर सिलिकन भ्यालीमा रहेका इन्जिनियर/आविष्कारसँग जोखिम लिने सोच बढी थियो । धेरैले आफ्नो आइडियालाई अघि बढाउन घर धितो राख्ने वा मूल्यवान सामान समेत बेच्ने गर्थे ।
यसको राम्रो उदाहरण स्टिभ जब्स हुन् । एप्पल सुरु गर्दा उनले १५०० डलर पर्ने आफ्नो फोक्सवागन गाडी बेचिदिएका थिए ।
भेन्चर क्यापिटलको उदय
सन् १९६०/७० को दशकताका कम्पनी स्थापना गरेका धेरैले पछि ठूलो सफलता पाए । तर उनीहरू आफ्नो लाभमा मात्र सीमित रहेनन् । अन्य कम्पनीहरूको स्थापना गर्न र तिनको वृद्धिमा सहयोग गर्न ती मध्ये केहीले टेक भेन्चर क्यापिटल (भीसी) कम्पनीहरू स्थापना गरे ।
उदाहरण दिँदा, फेयरचाइल्ड सेमिकन्डक्टरका सह-संस्थापक युजीन क्लाइनरले सफल टेक भीसीहरू मध्ये क्लाइनर, परकिन्स, कौफिल्ड, बायर्सको स्थापना गरे । उनका यी कम्पनीहरूले अमेजन, गुगल, क्वान्टम, इलेक्ट्रोनिक आर्ट्स लगायतका ३०० भन्दा बढी कम्पनीहरूमा लगानी गरेको छ ।
एआईमा लगानी
आजका दिनमा सिलिकन भ्यालीका भीसीहरू एआई प्रविधिमा लगानी गर्न उत्साहित छन् । यसको प्रमाण हरेकजसो महिनामा सयौं टेक कम्पनी बैठक हुनु र नयाँ आइडिया प्रस्तुत गर्नु हो ।
प्रम्ट म्यानेजमेन्ट टुल एआईपीआरएमको रिपोर्ट अनुसार सन् २०२५ सम्ममा अमेरिका एआईमा सबैभन्दा ठूलो लगानीकर्ता हुने छ । हुन त अहिले पनि एआईमा लगानी गर्ने प्रमुख देशमा अमेरिका नै छ । सन् २०१२ मा अमेरिकाले एआईमा २.४ अर्ब डलर लगानी गर्दा २०२४ सम्ममा ८०.५ अर्ब डलर लगानी गरिसकेको छ ।
अब २०२५ को अन्त्यसम्ममा यो लगानी ८७.४ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । एआईमा सबैभन्दा बढी लगानी गर्ने दोस्रो देश भने चीन रहेको छ । चीनले सन् २०२५ सम्ममा ४०.५ अर्ब डलर लगानी गर्ने अनुमान छ ।
समग्रमा सिलिकन भ्यालीको सफलताको कारण जोखिम लिने उद्यमशील मानसिकता र भेन्चर क्यापिटललाई मान्न सकिन्छ । यदि यो हुन्थेन भने आज सिलिकन भ्यालीको रवाफ कुनै अर्को सहरमा हुन्थ्यो । तर यी कुरा हुँदा जम्मा १८५४ वर्ग माइल भएको यस सहर विश्वकै सफल टेक जोन बनेको छ ।