काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । साइबर अपराध सम्बन्धी मुद्दामा धरौटीमा छुट्नासाथ प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनलाई आपराधिक लाभ र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि फेरि पक्राउ गरिएको सीआईबीका का प्रवक्ता एवं एसपी होवीन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीका अनुसार भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईंको समेत संलग्नता रहेको खुलेको छ । यो कार्यका लागि प्रसाईं निकट हरिचन्द्र फुयाललाई प्रयोग गरिएको प्रहरीको भनाइ छ ।
फुयालले धम्कीका लागि पाँच लाख रुपैयाँ पाएको स्वीकारेपछि यस विषयमा प्रसाईंसँग समेत प्रहरीले बयान लिइरहेको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी राखेको बताएको छ ।