काठमाडौं । क्यूएफएक्स सिनेमाजले चलचित्रको टिकेट काट्दा खाजा पनि अनलाइनबाटै अर्डर गर्न सकिने सुविधा सुरु गरेको छ । दर्शकलाई थप सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले ‘फुड एन्ड टिकेटिङ’ नामक सुविधा ल्याएको हो ।
योसँगै अब क्यूएफएक्स सिनेमाजको मोबाइल एप वा वेबसाइटबाट चलचित्रको टिकेट बुकिङ गर्दा खाजाको विकल्प समेत छान्न सकिनेछ । यसका लागि कम्पनीले आफ्नो वेबसाइट र एपमा आवश्यक अपडेट गरिसकेको छ ।
“ग्राहकलाई लाइनमा बस्नुपर्ने झन्झट हटाउन यो फिचर ल्याएका हौं,” टेकपानासँग कम्पनीकी महाप्रबन्धक तृप्ती गिरीले भनिन्, “अब टिकट र खाजा सँगै अर्डर गरेपछि हलमा भुक्तानी गर्न लाइन बस्नुपर्ने छैन ।”
यसरी खाजा अर्डर गर्ने दर्शकका लागि सिनेमा हलमा खाजा लिन छुट्टै ठाउँ तोकिएको छ । भविष्यमा सिधै दर्शकको सिटसम्म खाजा पुर्याउने योजना रहेको उनले सुनाइन् । “अहिले अनलाइन बुकिङले विस्तारै गति लिँदैछ । दर्शकलाई थप सुविधा दिन सिटमै खाजा पुर्याउनेबारे सोचिरहेका छौं,” उनले भनिन् ।