काठमाडौं । टेक्सपायर कलेजले तेस्रो सेमेस्टरमा अध्ययनरत २३ जना विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गरेको छ । पाठ्यक्रम बाहेकका सीप विकासमा ध्यान दिएर सञ्चालन गरिएको कोर्सपछि कलेजले करियर कनेक्ट २०२४ कार्यक्रममार्फत इन्टर्नशिपको अवसर प्रदान गरेको हो ।
कलेजका चिफ बिजनेस अफिसर (सीबीओ) आशिष प्रसाईंका अनुसार विद्यार्थीहरू अहिले ‘कोड हिमालयन’ कम्पनीमा इन्टर्नशिप गरिरहेका छन् । “यो कार्यक्रम शिक्षा र उद्योगबीचको अन्तर कम गर्ने माध्यम बनेको छ । विद्यार्थीलाई पढ्दापढ्दै काम गर्ने अवसर प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो,” प्रसाईंले भने ।
कलेजले इन्टर्नशिपको तयारीस्वरूप विद्यार्थीहरूलाई मुख्य पाठ्यक्रमबाहेक फुल स्ट्याक डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, मेसिन लर्निङ, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी जस्ता नन्-क्रेडिट कोर्सहरू उपलब्ध गराएको थियो ।
इन्टर्नशिप गरिरहेकी विद्यार्थी आयुषा श्रेष्ठले यो अवसरले आफूलाई व्यवहारिक सीप सिक्न सहयोग गरेको बताइन् । अर्का विद्यार्थी निमेश नेपालले नन्-क्रेडिट कोर्सहरू आधारभूत नभई भविष्य केन्द्रित भएको अनुभव सुनाए ।