काठमाडौं । विभिन्न कार्यालयको काम सहज र स्वचालित बनाउने एआई टुल ‘प्रोमा एआई’ सार्वजनिक भएको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक रूपमा यो टुल सार्वजनिक गरिएको हो । नेपालीले अमेरिकामा सञ्चालन गर्दै आएको ‘ग्रोथजिल्ला’ नामक कम्पनीले यो टुल विकास गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिशिर बस्यालले ‘प्रोमा एआई’ ले कार्यालयको जटिल प्राविधिक कामलाई बिना कुनै झन्झट डिजिटल स्वरूपमा लैजाने उनको भनाइ छ । यस टुलमा प्रयोग भएको ‘एप कोलुम्स’ प्रविधिको मद्दतले स्थिर डेटा (साधारण जानकारी) लाई गतिशील र व्यवहारिक बनाउने उनले बताए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘प्रोमा एआई’ ले नेपालका व्यवसाय र डिजिटल भविष्यमा पुर्याउन सक्ने बताए ।
यस एआई टुल प्रयोग गर्न प्रयोगकर्ताले मासिक ४.९९ डलर (करिब ६७६ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । सुरुवाती ग्राहकका लागि कम्पनीले छ महिनासम्म यो टुल निःशुल्क उपलब्ध गराउने भएको छ ।
यस टुलमा ‘प्रोसेस अटोमेसन बिल्डर’, रियल टाइम कोलाबोरेसन टुल, फ्लेक्जिबल अर्गनाइजेस्नल स्ट्रक्चर लगायतका फिचर उपलब्ध छन् । ग्रोथजिल्लाले विकास गरेको यस प्लेटफर्मले सबै किसिमका संस्थाहरूलाई अत्याधुनिक प्रोसेस अटोमेसनमा सक्षम बनाउने कम्पनीको विश्वास छ ।