काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेको भन्दै ललितपुर महानगरपालिकाले मङ्गलबार एनसेललाई सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको महानगरले जनाएको छ । विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रूपमा स्थापित रहँदै आएको छ ।
“ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नु भएको यो सम्मानका लागि हामी कृतज्ञ छौँ,” कायुमोभले भने, “एक ठूलो करदाताका रूपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजस्वमा ठूलै योगदान गछौँ र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौँ र यो कार्यले निरन्तरता पाउने कुरामा म विश्वस्त छु ।”
एनसेलले स्थापना कालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३०० अर्बभन्दा बढी तिरिसकेको जनाएको छ ।