काठमाडौं । आगामी दिनमा एनसेलको सिम चलाउन पनि इन्टरनेट सेवा प्रदायकको जस्तै सब्सक्रिप्सन लिनुपर्ने भएको छ । बुधबार सञ्चारकर्मीहरूसँगको मिट एन्ड ग्रिट कार्यक्रमका दौरान एनसेलले यस्तो योजना अगाडि सारेको हो ।
निरन्तर रूपमा टेलिकम कम्पनीहरूको आम्दानी घट्दै गएको र नेटवर्क सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक लगानी समेत जुटाउन नसक्ने अवस्था रहेको भन्दै एनसेलले समाधानका लागि पछिल्ला दिनहरूमा आफ्नो नीति परिवर्तन गरिरहेको छ । डेटा प्रयोगकर्ताका लागि सधैं अन नामक योजना ल्याएको कम्पनीले केही दिन अघि रिचार्जको भ्यालिडिटी (मान्य) अवधि घटाउने कार्य समेत गरेको छ । यसो गर्नुको पछाडि खर्च नगरी निःशुल्क रूपमा इनकमिङ कलको सेवा लिने प्रवृत्तिलाई निरुत्साहित गर्नु रहेको बताइएको छ ।
रिचार्जको भ्यालिडिटी घटाइएको भए पनि ग्राहकको ब्यालेन्स भने नचलाइने एनसेलले स्पष्ट पारेको छ । सामान्यतया प्याक नलिई डेटा र कल सेवा प्रयोग गर्दा महँगो पर्ने गर्छ । प्रयोग गरेको आधारमा ब्यालेन्स काटिने यो मोडेललाई 'पे एज यु गो' भन्ने गरिएको छ ।
ग्राहकलाई महँगो पर्ने यस्तो 'पे एज यु गो' मोडेल नै बन्द गर्ने उद्देश्यका साथ सस्तो मूल्यका प्याकेज ल्याइएको एनसेलले जनाएको छ । सधैं अन योजना अन्तर्गत डेटा प्रयोग गर्ने ग्राहकको प्याकेज सकिएको खण्डमा ब्यालेन्स नकाटिने व्यवस्था कम्पनीले यसअघि नै मिलाइसकेको छ ।
कम्पनीका अनुसार आगामी दिनमा डेटासँगै भ्वाइस कल सेवामा समेत त्यसलाई विस्तार गरिनेछ । यसरी क्रमशः हाल इन्टरनेट सेवा प्रदायकले अपनाए जस्तै मोडेल लागु गर्ने योजना एनसेलले बनाएको हो ।
जसअनुसार निश्चित समयावधिको सब्सक्रिप्सन खरिद गरेको खण्डमा मात्रै ग्राहकले एनसेलको सिमबाट कल, एसएमएस तथा डेटा सेवा प्रयोग गर्न पाउनेछन् ।