close

नेपालमा अनलाइन बालयौन दुरुपयोग र साइबरबुलिङका घटना बढ्दै, समाधानका लागि के गर्ने ?

टेकपाना टेकपाना

पुस ५, २०८१ १६:१४

नेपालमा अनलाइन बालयौन दुरुपयोग र साइबरबुलिङका घटना बढ्दै, समाधानका लागि के गर्ने ?

काठमाडौं । युनिसेफ र चाइल्डसेफनेटको साझेदारीमा नेपालका बालबालिकाले बदलिँदो डिजिटल संसारमा सामना गरिरहेका चुनौतीबारे छलफल भएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा अनलाइनमा बालबालिकाले सामना गरेका समस्या र समाधानका उपायबारे चर्चा गरिएको हो । 

‘एक सुरक्षित डिजिटल संसार: जोखिम व्यवस्थापन र बालबालिकाको संरक्षण’ शीर्षकमा आयोजित कार्यक्रम अनलाइन सुरक्षाका लागि सहकार्य र कार्यान्वयनयोग्य रणनीतिहरू पहिचानमा केन्द्रित थियो । नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेका बेला बालबालिकाहरूले शिक्षा, मनोरञ्जन र सामाजिक सम्पर्कका लागि डिजिटल प्लेटफर्महरूको प्रयोग बढाउँदै आएका छन् । यसले नयाँ अवसरहरू खुला गरे पनि सँगसँगै गम्भीर जोखिम निम्त्याएको छ ।

विशेषगरी अनलाइन बालयौन दुरुपयोग, साइबर बुलिङ, पहिचान चोरी र अन्य डिजिटल हिंसाका घटना सतहमा आउन थालेका छन् । कमजोर कार्यान्वयन संयन्त्र र अनलाइन सुरक्षा सम्बन्धी चेतनाको कमीले यी समस्या झनै गहिरो बनाएको कार्यक्रमको निष्कर्ष छ ।

कार्यक्रममा महिला, बालबालिका, तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुदीले सरकारको भूमिकालाई जोड दिँदै भने, “नीतिगत सुधार, कार्यान्वयन संयन्त्र, शिक्षा अभियान र पीडितलाई सहयोगका सेवामार्फत नेपालले बालबालिकाहरूका लागि डिजिटल क्षेत्रलाई सुरक्षित बनाउने प्रतिबद्धता लिएको छ । कानुनलाई बलियो बनाउन, प्रशिक्षण र शिक्षाका माध्यमबाट क्षमता अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सरकार क्रियाशील हुनेछ । हाम्रो लक्ष्य यस्तो डिजिटल वातावरण सिर्जना गर्नु हो, जहाँ हरेक बालबालिका सुरक्षित, मूल्यवान् र हिंसामुक्त महसुस गर्न सकून् ।”

युनिसेफ नेपालकी प्रतिनिधि जी ह्युन राहले डिजिटल युगमा बालबालिकाको संरक्षणको महत्त्वमा जोड दिइन् । “सीमित प्रतिक्रिया संयन्त्र, कमजोर कानुनी कार्यान्वयन र सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी चेतना अभावलाई सम्बोधन गर्न तुरुन्त कदम चाल्नु आवश्यक छ,” उनले भनिन्, “सरकार, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाज एकजुट भएर बालबालिकाका लागि सुरक्षित र समावेशी डिजिटल वातावरण निर्माण गर्नुपर्छ ।”

यी समस्याहरूलाई सम्बोधन गर्न युनिसेफ र चाइल्डसेफनेटले “नेपालको डिजिटल पुस्ता: बाल अनलाइन संरक्षणका चुनौती र समाधान” नामक स्थिति पत्र विकास गरेका छन् । १६० भन्दा बढी दस्तावेजको विस्तृत समीक्षा र विज्ञहरूसँगको परामर्शमा यो पत्र आधारित भएको बताइएको छ । यस पत्रले बालबालिकाको अनलाइन सुरक्षाका लागि प्रमुख सिफारिस प्रस्तुत गरेको छ ।

अनुसन्धानका निष्कर्षले इन्टरनेटको प्रयोगले जीवनमा उल्लेखनीय प्रभाव पारेको देखाएको छ । विशेषगरी नेपालमा यसको प्रयोग बढ्दो क्रममा छ । धेरै बालबालिका र युवाहरूले इन्टरनेटको प्रयोग जोखिमपूर्ण व्यवहारमा संलग्न भएर गरिरहेका छन् । यसले गर्दा उनीहरूलाई अनलाइन दुरुपयोग र शोषणको जोखिम बढाएको उल्लेख गरिएको छ ।

कार्यक्रममा युवा परिवर्तनकर्ता अभिनय चौहानको संयोजनमा बाल अनलाइन सुरक्षाका जोखिम, अवसर, र भविष्यबारे प्यानल छलफल पनि भएको थियो । छलफलमा राष्ट्रिय बालअधिकार परिषदकी इन्दिरा देवी ढकाल, चाइल्डसेफनेटका अनिल रघुवंशी र एनसेलकी यास्मिन भट्टराई पनि सहभागी थिए ।

“इन्टरनेट प्रयोग गर्ने हरेक बालबालिका अनलाइन यौन दुरुपयोग, साइबर बुलिङ र घृणासूचक सामग्रीको जोखिममा छन्,” चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, “सरकार र प्रविधि कम्पनीहरूले बालबालिकाको सुरक्षाका लागि बजेट वृद्धिमा प्राथमिकता दिनुपर्छ ।”

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ १६:२९