close

स्पाम ईमेल आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् गुगलका यी टिप्स

टेकपाना टेकपाना

पुस ६, २०८१ १४:१५

स्पाम ईमेल आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् गुगलका यी टिप्स

काठमाडौं । गुगलका अनुसार डिसेम्बरको महिना अत्यधिक स्पाम र ठगीसम्बन्धी ईमेल बढी आउँछन् । क्रिसमस डे र नयाँ वर्ष नजिकिएसँगै उपहारका नाममा ठगी गर्ने, स्पाम ईमेलमा क्लिक गराउने लगायतका घटना बढ्छन् । 

यसलाई नियन्त्रण गर्न गुगलले एआई प्रयोग गरेर प्रयोगकर्ताको इनबक्समा आउने स्पाम गतिविधि हटाउने प्रयास गरिरहेको छ । जिमेलले यस्ता ईमेलबाट प्रयोगकर्तालाई जोगाउने सफलता दर निकै उच्च भएको गुगलको दाबी छ । तर पनि सुरक्षाका उपायलाई पार गर्दै केही ठगीसम्बन्धी ईमेलहरू प्रयोगकर्ताको इनबक्ससम्म पुग्न सक्छन् । त्यसैलाई मध्यनजर गर्दै गुगलले यस्ता ईमेलबाट कसरी सावधानी अपनाउने भनेर केही सुझाव दिएको छ: 

समय लिएर सोच्नुहोस्

ठगी गर्ने मनसायले ईमेल पठाउनेहरूले तपाईंले तत्कालै लिङ्क क्लिक गर्नुहोस् र त्यसबारे अरु कसैलाई जानकारी नदिनुहोस् भन्ने चाहन्छन् । यस्ता ठगीहरूमा तपाईंले तुरुन्तै प्रतिक्रिया नदिए ठूलो क्षति बेहोर्नुपर्नेछ भनेर ब्ल्याकमेल गरिन्छ । “अत्यन्त जरुरी (अर्जेन्ट), तुरुन्तै (इमिडियट), निष्क्रिय (डिएक्टिभेट), अनधिकृत (अनअथोराइज)” जस्ता शब्दहरू प्रयोग गरिएका ईमेलप्रति सचेत रहनुहोस् ।

गुगलले यस्ता ईमेल आएमा सबैभन्दा पहिले आफैंलाई प्रश्न सोध्न सुझाव दिएको छ । खासगरी त्यो ईमेल तपाईंसँग सम्बन्धित छ कि छैन । किन त्यसरी तत्कालै क्लिक गर्न भनेको छ ? र, किन आत्तिने अवस्थामा पुर्‍याएको छ भन्ने ख्याल गर्नुपर्छ । यसका लागि ईमेल आइसकेपछि समय दिएर सोच्नुपर्ने हुन्छ । यदि तपाईं उक्त ईमेललाई आधार मान्ने वा नमान्ने द्विविधामा हुनुहुन्छ भने तपाईंले विश्वास गर्ने कसैसँग ईमेलको बारेमा सल्लाह लिन सक्नुहुन्छ ।

जाँच्नुहोस् 

आफूलाई सुरक्षित राख्न तपाईंले ईमेलका विवरणहरू ध्यानपूर्वक जाँच्न सक्नुहुन्छ । खासगरी तल उल्लेख गरिएका पक्षलाई विशेष ध्यान दिनुपर्छ ।

  • पठाउने व्यक्तिको ईमेल ठेगाना वैध छ कि छैन ?

  • मेसेजको लेआउटमा केही असामान्य देखिन्छ कि ?

  • पुूरा ईमेलको सामग्रीले अर्थ लगाउन मिल्छ ?

यस्ता विषय पुष्टि गर्न तपाईंले इन्टरनेटमा मेसेज सर्च गर्न सक्नुहुन्छ । मेसेज जाँच गर्न एआईको सहायता पनि लिन सकिन्छ । 

पठाउने हतार नगर्नुहोस् 

ठगीको मुख्य सङ्केत भनेको तुरुन्तै भुक्तानीको माग गर्नु हो । गुगल भन्छ, “कुनै पनि विश्वासिलो व्यक्ति वा निकायले कहिल्यै तपाईंबाट तुरुन्तै भुक्तानी वा व्यक्तिगत जानकारी माग्दैन ।”
किनभने आधिकारिक कम्पनी प्रक्रिया अनुसार चल्छन् । जसले कहिल्यै तत्कालै भुक्तानी गर्ने दबाब दिँदैनन् । त्यसैले यदि ईमेलले तपाईंलाई ‘अहिले नै’ भुक्तानी गर्न वा जानकारी पठाउन भनेको छ भने त्यसमा तपाईं ठगीमा पर्ने सम्भावना उच्च छ ।

रिपोर्ट गर्नुहोस्

यदि तपाईंको इनबक्समा केही शङ्कास्पद ईमेल देखिए भने त्यस्ता ईमेललाई स्पामको रूपमा रिपोर्ट गर्नुपर्छ । ईमेलको माथिल्लो भागमा रहेको ‘Report spam’ बटनमा क्लिक गरेर यसलाई स्पाममा राख्न सक्नुहुन्छ ।

यसले गुगलका फिल्टरलाई त्यस्ता ईमेल चिन्न सिकाउँछ । र, यस्तै अरू मेसेज सोझै तपाईंको स्पाम इनबक्समा जान्छन् । साथै यसले अरूलाई पनि यस्तै ठगी ईमेलको सिकार हुनबाट जोगाउन मद्दत गर्छ ।

माथि उल्लेख गरिएका विषय तपाईंलाई ईमेलमा हुने ठगीबाट जोगाउनका लागि ध्यान दिनुपर्ने केही उपाय हुन् । तर, इनबक्स बाहिर इन्टरनेट ब्राउज गर्दा पनि सुरक्षित रहन आजैदेखि साइबर आक्रमणप्रति सचेत रहनुहोस् । साथै, तपाईंको कम्प्युटरलाई प्रभावित गर्न डिजाइन गरिएका नक्कली क्याप्चा पेजबाट पनि सावधान हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ १४:३३