close

यी हुन् शार्क ट्याङ्क नेपालका ५ शार्क

टेकपाना टेकपाना

पुस ८, २०८१ १२:३७

यी हुन् शार्क ट्याङ्क नेपालका ५ शार्क

काठमाडौं । विश्वभरका उद्यमीहरू माझ परिचित टेलिभिजन रियालिटी शो 'शार्क ट्याङ्क' को नेपाली संस्करण सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कार्यक्रम 'शार्क ट्याङ्क' नेपाल र शार्क सार्वजनिक गरिएको हो ।

शार्कमा आईएमी ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस् होल्डिङका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योती र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन् ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले शार्क ट्याङ्क विश्वभरका ५३ देशमा प्रसारण भइसकेको लोकप्रिय व्यावसायिक रियालिटी शो भएको र आजदेखि नेपाल यसको ५४ औँ राष्ट्रका रूपमा थपिएको बताए । उनका अनुसार नेपालमा यो कार्यक्रम सुरु गर्न सोनी पिक्चर्ससँग तीन वर्ष अगाडि नै सम्झौता गरिएको थियो ।

"यो कार्यक्रम अन्य शोभन्दा फरक छ, किनभने यो लगानीकर्ताहरू र व्यवसायका सम्भावनाहरू बीचको प्रत्यक्ष सहकार्य हो," कँडेलले भने, "नेपालजस्तो सानो भूगोल र जनसङ्ख्याका कारण व्यवसायहरूले आफ्नो क्षमता प्रस्ट देखाउन सकेका छैनन् । यही कारण, यस्तो कार्यक्रममा नेपाललाई थप आवश्यकता महसुस गरिएको हो ।"

शार्क ट्याङ्कले नेपालमा लगानीको वातावरण सिर्जना गर्ने मात्र होइन, देशभित्रै रोजगारीका नयाँ अवसर पनि दिने विश्वास गरिएको छ । यस कार्यक्रमले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग गर्ने कँडेलले उल्लेख गरे । विश्वभरका ३०० भन्दा बढी "शार्क" (लगानीकर्ता) हरूसँग कुम मिलाउने अवसरले नेपाली व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न थप मद्दत गर्ने विश्वास गरिएको छ ।

कँडेलका अनुसार कोभिड महामारी र त्यसपछि उत्पन्न आर्थिक चुनौतीका कारण यो कार्यक्रम घोषणा भएको तीन वर्षसम्म पनि सुरु गर्न ढिला भएको हो । तर, नेपाली "शार्क"हरूको टोली भारतमा गएर शार्क ट्याङ्क इन्डियाको स्वरूप र प्रक्रियासँग अभ्यस्त भइसकेका छन् । कार्यकारी निर्देशक कँडेलका अनुसार शार्क ट्याङ्क नेपालले नेपाली व्यवसायीहरूलाई आफ्नो स्टार्टअपको स्तर उकास्न र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग सम्पर्क गर्न महत्वपूर्ण मञ्च प्रदान गर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १३:३६