close

यसरी ब्लक गर्नुहोस् एन्ड्रोइड फोन वा ट्याब्लेटमा आउने विज्ञापन

टेकपाना टेकपाना

पुस ८, २०८१ १३:३२

यसरी ब्लक गर्नुहोस् एन्ड्रोइड फोन वा ट्याब्लेटमा आउने विज्ञापन

 

काठमाडौं । विज्ञापनहरूले वेबसाइट र एप डेभलपरहरूलाई आर्थिक रूपमा टिकाइ राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा उनीहरूले नि:शुल्क वा कम लागतमा सेवा उपलब्ध गराउन सक्छन् । तर, अत्यधिक विज्ञापनले प्रयोगकर्ताको अनुभव बिगार्न सक्छ, उत्कृष्ट एन्ड्रोइड फोनहरू सुस्त बनाउँछ, र ब्याट्रीको आयु घटाउँछ । 

खुसीको कुरा, एन्ड्रोइडले तपाईँको डिभाइसमा विज्ञापन रोक्न वा सीमित गर्नका लागि विभिन्न विकल्पहरू पनि दिन्छ । आज हामी तपाईँलाई एन्ड्रोइडमा कसरी विज्ञापन ब्लक गर्ने भन्ने विषयमा बताउँदै छौँ । 

गुगल क्रोममा विज्ञापन, पप-अप, र रिडाइरेक्ट ब्लक गर्ने तरिका
 

गुगल क्रोममा डिस्टर्ब गर्ने खाले विज्ञापन र पप-अपहरू रोक्नका लागि बिल्ट-इन टुल उपलब्ध छन् । यी टुलहरू कसरी एक्टिभ गर्ने त ?

१. आफ्नो एन्ड्रोइड डिभाइसमा गुगल क्रोम खोल्नुहोस् ।

२. माथिको दायाँ कुनामा रहेको तीन-डट भएको मेनुमा थिच्नुहोस् र सेटिङ्समा जानुहोस् ।

३. साइट सेटिङ्ससम्म स्क्रोल गर्नुहोस् र पप-अप्स एन्ड रिडाइरेक्ट्स चयन गर्नुहोस्।

४. पप-अप्स एन्ड रिडाइरेक्ट्सलाई अन छ भने अफ गर्नुहोस्।

५. फेरि साइट सेटिङ्स पेजमा फर्किनुहोस्, इन्स्ट्रुसिभ एड्स (डिस्टर्ब गर्ने विज्ञापन) चयन गर्नुहोस् र यसलाई पनि अफ गर्नुहोस् ।

गुगल क्रोमले केही विज्ञापनहरू ब्लक गरे पनि, यसले मोबाइलमा एड-ब्लकिङ एक्सटेन्सनलाई भने सपोर्ट गर्दैन । क्रोमको विकल्पको रूपमा रहेका सामसङ इन्टरनेट, फायरफक्स र ब्रेभ जस्ता ब्राउजरहरूले एड-ब्लकिङका लागि एक्सटेन्सन वा बिल्ट-इन टुलको माध्यमबाट थप प्रभावकारी सुविधा प्रदान गर्छन् ।

 

गुगल क्रोममा साइट नोटिफिकेसन व्यवस्थापन गर्नु होस्

वेबसाइटहरूलाई नोटिफिकेसन पठाउन अनुमति दिनुले स्पाम जस्ता अलर्ट दिन सक्छन् । तर तपाईँ यी नोटिफिकेसनलाई सीमित वा ब्लक गर्न सक्नु हुन्छ र आफ्नो एन्ड्रोइडमा अधिकांश विज्ञापनहरूलाई रोक्न सक्नुहुन्छ । 

१. यसका लागि गुगल क्रोमको एप आइकनलाई लामो समयसम्म थिच्नुहोस् र ‘i’ बटन थिचेर एप इन्फोमा जानुहोस् ।

२. नोटिफिकेसनमा जानुहोस् र अल साइट्स नोटिफिकेसन चयन गर्नुहोस् ।

३. अनुमति दिइएका साइटहरूको सूची नियाल्नु होस् र आवश्यक नभएका साइटहरूको नोटिफिकेसन बन्द गर्नुहोस् ।

४. गोपनीयता थप बढाउनका लागि क्रोममा टार्गेटेड एड ट्र्याकिङ डिसेबल गर्नुहोस् ताकि तपाईँको ब्राउजिङ हिस्ट्रीको आधारमा व्यक्तिगत विज्ञापनहरू रोक्न सकियोस् ।

 

होम स्क्रिनमा विज्ञापन ब्लक गर्ने

होम स्क्रिनका विज्ञापनहरू ब्राउजर वा नोटिफिकेसन विज्ञापनभन्दा बढी डिस्टर्ब गर्ने खालका हुन्छन् । केही एपहरूले “डिस्प्ले ओभर अदर एप्स” अनुमति दुरुपयोग गरेर फोनभर ब्यानर विज्ञापन देखाउँछन् । 

१. यी विज्ञापनहरू ब्लक गर्नका लागि विज्ञापन देखाउने एपको आइकनलाई लामो समयसम्म थिच्नुहोस् र एप इन्फोमा जानुहोस् ।

२. डिस्प्ले ओभर अदर एप्स चयन गर्नुहोस् र अनुमति बन्द गर्नुहोस् ।

३. यदि एप आवश्यक छैन भने, एप इन्फो पेजबाटै एपलाई अनइन्स्टल गर्न पनि सक्नु हुन्छ ।

विज्ञापन ब्लक गर्न डीएनएस सर्भिस प्रयोग गर्ने 

विभिन्न वेबसाइट तथा एपहरूको विज्ञापन रोक्ने एउटा सजिलो तरिका हो, डीएनएस सर्भिस । एडगार्ड डीएनएस (AdGuard DNS) जस्ता सर्भिसले निःशुल्क विकल्प दिन्छन् । सामान्य विज्ञापन ब्लक गर्नः dns.adguard-dns.com प्रयोग गर्न सक्नु हुन्छ भने एडल्ट कन्टेन्ट सहित पारिवार केन्द्रित फिल्टरका लागिः family.adguard-dns.com राख्न सक्नु हुन्छ । 

 

कसरी सेट गर्ने डीएनएस एड ब्लकर ?

  • सबैभन्दा पहिला सेटिङ एप खोल्नुहोस् ।

  • कनेक्सन अथवा नेटवर्क हुँदै प्राइभेट डीएनएसमा जानुहोस् । 

  • अब प्राइभेट डीएनएस प्रदायकको होस्टनेम चयन गरेर चाहेको डीएनएस एड्रेस राख्नुहोस् । (उदाहरणका लागिः dns.adguard-dns.com)

  • अब अप्लाई गर्न सेभ गर्नुहोस् । 

डीएनएसमा आधारित भएर विज्ञापन ब्लक गर्ने कार्य प्रभावकारी हुन्छ । तर यसले वेबसाइट लोड हुन लाग्ने समय सुस्त हुन सक्छ अथवा केही निश्चित साइटहरूमा समस्या देखिन सक्छ । 

 

प्रिमियम सब्सक्रिप्सन प्रयोग गर्ने

धेरै डेभलपरहरूले विज्ञापन मार्फत आय आर्जन गर्छन् । तर, उनीहरूले प्रायः प्रिमियम सब्सक्रिप्सनमार्फत विज्ञापन रहित अनुभव प्रदान गर्छन् । उदाहरणका लागि, युट्युब र स्पोटिफाइ जस्ता प्लेटफर्महरूले विज्ञापन हटाउनुका साथै अतिरिक्त सुविधाहरू उपलब्ध गराउँछन्।

 

एप इन्स्टलेसन गर्दा सावधान रहनुहोस्

  • अनावश्यक वा कम रेटिङ भएका एपहरू (जस्तै, फ्ल्यासलाइट एप वा थर्डपार्टी लन्चर) इन्स्टल नगर्नुहोस्, किनकि यस्ता एपहरू विज्ञापनले भरिपूर्ण हुन्छन् ।

  • प्ले स्टोरमा एपका रिभ्युहरू जाँच गर्नुहोस्।

  • गूगलको प्ले प्रोटेक्टले हानिकारक एपहरू कम गर्न मद्दत गर्छ, तर वैधानिक एपभित्र रहेका विज्ञापनलाई नियन्त्रण गर्न सक्दैन।

 

एडभान्स: सिस्टम-वाइड एड-ब्लकिङका लागि रुटिङ

आफ्नो एन्ड्रोइड डिभाइसलाई रुटिङ गरेपछि सिस्टम-वाइड एड-ब्लकर राख्न सकिन्छ। तर, यो प्रक्रिया जोखिमपूर्ण हुन्छ । यदि यस क्रममा गल्ती भएमा तपाईँको वारेन्टी नै रद्द हुन सक्छ । त्यसैले यसको सवालमा ध्यानपूर्वक अगाडि बढ्नुहोस् ।

 

सबै विज्ञापन खराब हुँदैनन्

विज्ञापनहरू धेरै सेवालाई नि:शुल्क रूपमा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्छन् । यिनले तपाईँलाई छुट, नयाँ रेस्टुरेन्ट, वा चासो लाग्ने उत्पादनहरूको जानकारी दिन सक्छन् ।
तर, सबै विज्ञापनहरू ब्लक गर्दा एप र वेबसाइटहरूले सब्सक्रिप्सन-आधारित सेवातर्फ परिवर्तन गर्नुपर्ने सम्भावना हुन्छ ।

यी उपायहरू अपनाउँदा तपाईँ आफ्नो एन्ड्रोइड डिभाइसमा आक्रामक विज्ञापनहरूको प्रभाव कम गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १३:३२