close

अज्ञात समूहले टावरमा क्षति पुर्‍याउँदा हुम्लाका कतिपय स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध

टेकपाना टेकपाना

पुस ८, २०८१ १८:२५

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । हुम्ला जिल्लाका कतिपय स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रूपमा केही समूह/व्यक्तिहरूले क्षति पुर्‍याउने काम गरेको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवा अवरुद्ध भएका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यसप्रति दु:ख व्यक्त गरेको छ । टेलिकमका अनुसार सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो बीटीएसमा ४ पुसमा सोलार प्यानल, भीस्याट उपकरण तथा अर्थिङ केबुलमा क्षति पुगेको थियो । विकट भौगोलिक अवस्थितिका कारणले उक्त स्थानमा मर्मत कार्य सम्पन्न भई सेवा सुरु हुन केही समय लाग्न सक्ने बताइएको छ ।

"यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ," टेलिकमले विज्ञप्तिमार्फत भनेको छ । "सार्वजनिक महत्त्वका सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र सर्वसाधारणको अविच्छिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न/नगराउनु हुन समेत नेपाल टेलिकम  सबैमा  अनुरोध गर्दछ ।"

 

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १८:२५