काठमाडौं । देशकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’ आयोजना गर्ने भएको छ । जहाँ विभिन्न प्रकारका फुड स्टल, बालबालिकाहरूका लागि खेल, विभिन्न प्रकारका रमाइला खेल रहने छन् ।
कम्पनीका अनुसार यस कार्निभलको मुख्य आकर्षणको रूपमा, ‘द इलिमेन्टस्’ ब्यान्डको प्रस्तुति रहने छ । त्यसका साथै विभिन्न स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने छ । चर्चित कार्यक्रम प्रस्तोता ‘सुजिता श्रेष्ठ’ले सञ्चालन गर्ने कार्निभलमा चर्चित ‘डीजे एमी’को प्रस्तुति समेत समावेश छ ।
पोखराको पामे, चङ्खपुरमा हुन गइरहेको ‘अन्तर्राष्ट्रिय बलुन फेस्टिभल’ को पाँचौ दिनमा हुने कार्निभल १३ पुस, शनिबारका दिन बिहान ९ बजेदेखि सुरु भइ बेलुकी ५ बजेसम्म चल्ने छ । यस कार्यक्रममा विभिन्न प्रकारका मनोरन्जनात्मक खेल, ‘पब्जी प्रतियोगिता’, तथा विभिन्न स्टलहरू समेत रहने छन् । साथै यसै कार्यक्रममा ‘बिट द स्पिड’ प्रतियोगिता समेत हुने वर्ल्डलिंकले जनाएको छ ।
उक्त प्रतियोगितामा १४५ किमी प्रति घण्टा भन्दा माथिको बलिङ गर्ने एक प्रतियोगीले ‘आईफोन १६’ उपहार पाउन सक्नेछन् । कार्निभलमा सहभागी हुन चाहनेहरूको सहजताको लागि वर्ल्डलिंकले पोखरामा पामेसम्मका लागि निःशुल्क बस सेवा समेत प्रदान गर्ने छ ।