काठमाडौं । एनसेल फाउन्डेसनले २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चार ओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरूप कम्पनीले शैक्षिक सामग्री दिने भएको हो ।
यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन् । शनिबार समापन भएको एनपीएलमा कूल ६५३ चौका हानिका थिए । त्यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कूल २,६१२ ओटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई दिने पक्का भएको हो ।
क्रिकेटदेखि कक्षा कोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिइएको छ । विद्यार्थीहरूले पाउने किटमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टका खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० ओटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए । जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल हानेका २६ चौका वापत १०४ शैक्षिक सामग्री वितरण हुनेछन् ।
त्यसैगरी चितवन राइनोजका रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण निश्चित गरेका थिए ।
“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवै हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न यो पहलकदमी लिन पाउँदा हामी अत्यन्त खुसी छौँ र यसको लागि हामी क्रिकेट एसोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौँ । शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिम अन्य सरोकारवालासँग सहकार्य गर्नेछौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।
नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो । यसले सहयोग र स्रोत बढी आवश्यकता भएकासम्म आवश्यक सहयोग पुर्याउन मद्दत गर्नेछ ।सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामग्री पुर्याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।