काठमाडौं । गुगलको जेमिनाई र ओपनएआईको च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न अर्बपति उद्यमी एलन मस्कले ग्रोक एआईको मोबाइल एप ल्याएका छन् । मस्कको कम्पनी एक्सएआईले सुरुवाती चरणमा ग्रोक एआईको आईओएस एपको बेटा भर्सन अष्ट्रेलिया सहितका देशमा सार्वजनिक गरेको हो ।
अहिले मस्कको कम्पनीले ग्रोक एआई च्याटबटको परीक्षण गरिरहेको छ । सुरुवाती चरणमा यो एप आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइने छ । खासगरी एक्स (पहिलेको ट्वीटर) का प्रयोगकर्ताले मात्र एप प्रयोग गर्न पाउने बताइएको छ ।
टेकक्रन्चका अनुसार अहिले ग्रोक एआईको आईओएस एप अष्ट्रेलियासहित केही देशमा बेटा भर्सनमा उपलब्ध भइसकेको छ । यसअघि मस्कले ग्रोक एआईका लागि छुट्टै एप ल्याउने अफवाह फैलिएको थियो । अहिले एप नै बेटा भर्सनमा सार्वजनिक भइसकेपछि भने उक्त विषय पुष्टि भएको छ ।
आईओएसमा उपलब्ध भए पनि एन्ड्रोइडमा उक्त एप कहिले सार्वजनिक हुन्छ भन्ने खुलाइएको छैन । यस एप प्रयोग गरी प्रयोगकर्ताले च्याटबटसँग कुरा गर्न पाउँछन् । यसले सामाजिक सञ्जाल एक्स र इन्टरनेटमा उपलब्ध डेटाका आधारमा तत्कालै जवाफ दिन्छ ।
यसमा जेनेरेटिभ एआईका फिचर पनि छन् । यसले शब्दहरू मिलाइदिने, प्रश्नको जवाफ दिने, लामा हरफको सारांश तयार पारिदिने, प्रश्नको जवाफ दिने, फोटो तयार पारिदिने लगायतका काम गर्छ । त्यस्तै मस्कले एआईलाई नै लक्षित गरी ग्रोक डटकम ल्याउने चर्चा पनि छ । अहिले ग्रोकको यो डोमेन एक्स डट एआई (x.ai) मा रिडाइरेक्ट हुन्छ ।
केही समयअघि यो च्याटबट एक्सको प्रिमियम सब्स्क्रिप्सन लिने प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो । नोभेम्बरपछि भने कम्पनीले सबै प्रयोगकर्तालाई यो एप उपलब्ध गराउन थालेको थियो ।
पछिल्लो समय ग्रोक एआईमा 'रिम्याजिन' नामको फिचर उपलब्ध छ । यो फिचर प्रयोग गरी हातले बनाएको चित्रलाई वास्तविक फोटोको स्वरूप दिन सकिन्छ । तर, यो फिचर सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध छ । यो फिचर उपलब्ध भएका प्रयोगकर्ताले ‘Create your Version with Grok’ लेखिएको बटन देख्छन् ।