काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले सामाजिक सञ्जाल र केही अनलाइन समाचार पोर्टलमा आफ्नाबारे भ्रामक र आधारहीन समाचार प्रवाह भएको दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले इसेवा प्रणाली ह्याक भएर रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको भन्ने समाचारको खण्डन गरेको हो ।
आफ्नो १६ वर्षे यात्रामा सुरक्षा प्रणालीलाई कहिल्यै कमजोर हुन नदिएको बताउँदै कम्पनीले ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको छ । कम्पनीले ग्राहकको रकम डिजिटल वालेटमा नभई बैंक खातामा हुने भएकाले कुनै पनि अनधिकृत पहुँच वा दुरुपयोगको सम्भावना नरहेको दाबी गरेको छ ।
“भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ,” कम्पनीले विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालमा फैलिएका समाचार भ्रामक भएको दाबी गर्दै कम्पनीले अनावश्यक त्रास र भ्रम सिर्जना गर्ने कम्पनीले बताएको छ । केही दिन अघि
फिनटेक कम्पनी एफवन सफ्ट ग्रुपको खातामा अनधिकृत पहुँच लिएर ठुलो रकम चोरी भएको घटना बाहिर आएको छ । करिब दुई महिनाअघि एफवन सफ्टले आफ्नो खातामा कसैले अनधिकृत पहुँच पाएर रकम चोरी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको हो ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार यसमा अनधिकृत रूपमा सिस्टममा पहुँच पाएर रकम चोरी गरेको हुनसक्ने देखिएको छ । “यस विषयमा अनुसन्धान भइरहेको छ,” अवस्थीले भने, “अनथराइज एक्सेसको सम्भावना देखिएको छ । यस विषयमा प्राविधिक विश्लेषण गर्ने काम भइरहेको छ ।”
एफवन सफ्टको खातामा अनधिकृत एक्सेस गरी ठुलो रकम चोरी भएको समाचार केही दिन अघि टेकपानाले लेखेको थियो । साइबर ब्युरोले इसेवाको मातृ कम्पनीको रूपमा रहेको एफवन सफ्टको खाताबाट रकम चोरी भएको पुष्टी गरिसकेको छ । एफवन सफ्ट स्वयँले केही महिना अघि नै यो घटनाको विषयमा साइबर ब्युरोमा उजुरी दिएको थियो ।
अहिले यो विषय अनुसन्धानकै क्रममा रहेको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीले बताएका छन् । ह्याकरले एफवन सफ्टको सिस्टम एक्सेस गरी तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको समाचार नयाँ पत्रिकाले लेखेको थियो ।
एफवन सफ्ट ईसेवा, फोन पे, लगायतका फिनटेक कम्पनीहरूको माउ कम्पनी हो । जसले विभिन्न बैंकहरूका लागि इन्टरनेट तथा मोबाइल बैंकिङ सिस्टम विकास, व्यवस्थापन तथा सञ्चालनको कार्य समेत गर्दै आएको छ ।