काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले भोलिदेखि पाँचौं संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आयोजना गर्ने भएको छ । ११ दिने यस शैक्षिक कार्यक्रम २२ पुससम्म सञ्चालन हुनेछ ।
यस संस्करणको एआई स्कुल कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को आधार र कार्यान्वयनमा केन्द्रित हुनेछ । आयोजकका अनुसार विश्वभरका वैज्ञानिक, प्राध्यापक र विशेषज्ञहरूले सहभागीहरूलाई एआई सम्बन्धी बृहत जानकारी प्रदान गर्नेछन् । यसअन्तर्गत लेक्चर क्लासदेखि ल्याब र प्रोजेक्ट वर्कसम्मका कक्षा हुने बताइएको छ ।
ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुने कार्यक्रममा आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु समेटिने बताइएको छ ।
कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेसनलहरू सहभागी हुन सक्नेछन् । विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएको आयोकले जनाएको छ ।
विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्यका साथ वर्षेनि यस्तो कार्यक्रम गरेको नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले जानकारी दिए । “नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउनेछ,” उनले भने ।