close

बौद्ध क्षेत्रमा सीसीटिभी जडान गर्न प्रहरीलाई काठमाडौं महानगर ६ नम्बर वडाले सवा करोड दिने

टेकपाना टेकपाना

पुस ११, २०८१ १७:३२

बौद्ध क्षेत्रमा सीसीटिभी जडान गर्न प्रहरीलाई काठमाडौं महानगर ६ नम्बर वडाले सवा करोड दिने

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ सँगको सहकार्यमा बौद्ध क्षेत्रभित्र सीसीटिभी जडान गर्ने भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र वडा नं. ६ बौद्धबिच सीसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममाझ प्रहरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र वडा नम्बर ६ बौद्धका वडा अध्यक्ष भुवन लामाले समझदारी-पत्रमा हस्ताक्षर गरे । यस अनुसार एक करोड २६ लाख ९० हजार रुपैयाँ बराबरका सीसीटिभी जडान गरिनेछ ।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सीसीटिभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचैन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहर मैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सीसीटिभी जडान गर्न लागिएको हो ।

सम्झौता अनुसार सीसीटिभी जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सीसीटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८१ १७:३८