काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले पुरानो मोबाइलको सेन्सर प्रयोग गरी ‘मोसन-कन्ट्रोल्ड गेमिङ कन्ट्रोलर’ विकास गरेका छन् । इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरू विशाल पन्त, ब्रजमोहन न्यौपाने र धिरज थापाको टोलीले यस्तो प्रविधि विकास गरेको हो ।
‘रेट्रोफ्युजन’ नामको यो परियोजनाले कुनै पनि अतिरिक्त डिभाइस बिना नै साधारण स्मार्टफोनलाई मोसन-सेन्सिङ गेमिङ कन्ट्रोलरमा बदल्न सक्ने बताइएको छ । यसका लागि सो टोलीले मोबाइलका सेन्सर (जस्तै एक्सेलेरोमिटर र जाइरोस्कोप) प्रयोग गरी खेलाडीको शारीरिक गतिविधिलाई खेलमा समाहित गर्न मिल्ने प्रविधि तयार पारेको छ ।
टोलीले यो प्रविधि देखाउन मोबाइललाई ब्याट बनाएर खेलिने क्रिकेट गेम निर्माण गरेका छन् । यस खेलमा रन बनाउने प्रणाली, विभिन्न बलिङ शैली र राम्रो ग्राफिक्स जस्ता विशेषता छन् ।
“यो परियोजनाले मोबाइलका सेन्सर प्रयोग गरेर नयाँ र सस्तो मोसन-कन्ट्रोल गेमिङको अनुभव उपलब्ध गराएको छ,” परियोजनाबारे जानकारी दिँदै टिम मेम्बर विशाल पन्तले भने, “यसले खेल क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रहरूमा पनि मोसन-सेन्सिङ प्रविधिको सम्भावनालाई उजागर गरेको छ ।”
रेट्रोफ्युजनले गेमिङलाई थप पहुँचयोग्य बनाउँदै दैनिक जीवनमा स्मार्टफोनको प्रयोगका नयाँ आयाम प्रस्तुत गर्न सक्ने सम्भावना रहेको टिमको विश्वास छ । यो परियोजना हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।