काठमाडौं । मोबाइल टावरहरूमा एकपछि अर्को गर्दै क्षति पुर्याइ दिँदा नेपाल टेलिकमको सेवा नै अवरुद्ध हुन थालेपछि अब आफ्नो क्षेत्रका टावर सुरक्षाको जिम्मा सर्केगाड गाउँपालिकाले लिने भएको छ । हुम्लाको सो गाउँपालिकाले केही दिन अघि प्रतिबद्धता पत्र जारी गर्दै कथम् कदाचित् टावरमा क्षति पुर्याउने घटना भएमा सोको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएको हो ।
"हालै हुम्ला जिल्लाका बराई टावर र मदाना टावरमा क्षति पुर्याई दिएपछि दूरसञ्चार सेवामा अवरोध आएका कारण सेवाग्राहीहरू सेवा उपभोग गर्नबाट वञ्चित भएको तथा राज्यको सम्पत्तिमा ठुलो क्षति पुगेको छ," गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले जनाएको प्रतिबद्धता पत्रमा भनिएको छ ।
"यस सन्दर्भमा नेपाल टेलिकम हुम्ला जिल्लाका अधिकारी र सर्केगाड गाउँपालिकाबिच भएको छलफलको आधारमा यस क्षेत्रमा हरेका नेपाल टेलिकमका टावरहरूको सम्बन्धमा हामी सर्केगाड गाउँपालिकाको तर्फबाट टावरहरूमा क्षति हुन नदिनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता गर्दछौँ ।"
गाउँपालिकाका अनुसार यस्ता टावरहरूको सुरक्षा र सञ्चालन सुनिश्चित गर्न स्थानीय तहका जनप्रतिनिधि, समुदाय र सुरक्षा निकायसँग समन्वय गरिनेछ । साथै नेपाल टेलिकमको कुनै पनि संरचनामा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि गाउँपालिकाले व्यक्त जनाएको छ ।