काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले सामाजिक सञ्जाल एक्समा आफ्नो नाम परिवर्तन गरी 'केकियस म्याक्सिमस' राखेका छन् । एक्सका मालिक समेत रहेका मस्कले आफ्नो प्रोफाइल फोटो पनि लोकप्रिय ‘पेपे द फ्रग’ (Pepe the Frog) मिमले बदलेका छन् । तर यस अवतारमा पेपे चरित्रलाई भिडिओ गेम खेल्न जोयस्टिक समात्ने योद्धाको रूपमा देखाइएको छ ।
'केकियस म्याक्सिमस' (केकियस) क्रिप्टोकरेन्सी बजारमा देखापरेको नयाँ मिमकोइन हो । एलन मस्कले आफ्नो प्रोफाइल नेम र फोटो आइकन परिवर्तन गरेपछि यो मिमकोइन ट्रेडिङमा आएको छ । कोइनगेक (CoinGecko) का अनुसार केही घण्टाभित्रै यो कोइनको मूल्य ५०० प्रतिशतभन्दा माथि पुगेको छ । केकियस-थिमका अन्य मिमकोइनहरूले पनि लाभ उठाइरहेका छन् ।
'केकियस म्याक्सिमस' को चरित्र लोकप्रिय ‘पेपे द फ्रग’ चरित्र र ‘ग्ल्याडिएटर’ चलचित्रको चरित्र ‘म्याक्सिमस’ लाई मिलाएर बनाइएको मिममा आधारित छ ।
एलन मस्कले आफ्नो नाम मिमकोइन शीर्षकमा किन परिवर्तन गरे भनेर बताएका छैनन् । तर अर्बपति सीईओले आफ्नो नयाँ अवतारबारे कुरा गर्दै एक्समा केही पोस्ट राखेका छन् ।
एक पोस्टमा उनले लेखेका छन्, “कल्पना गर्नुहोस् त ! एक पत्रकारले एक्समा एलन मस्कबारे लेख्दै भन्यो: 'एलन मस्क उर्फ ‘केकियस म्याक्सिमस’ ।” उनले यो पोस्ट शेयर गर्दै लेखे, “यो अमूल्य हुनेछ ।”
अर्को एक पोस्टमा उनले यस क्रिप्टोकरेन्सीबारे भविष्यवाणी गरेका छन् । “केकियस म्याक्सिमस छिट्टै लेभल ८० मा पुग्नेछ,” एआई सिर्जित तस्बिरसहित उनले लेखेका छन् ।
के हो मिमकोइन क्रिप्टोकरेन्सी ?
मिमकोइन क्रिप्टोकरेन्सीको एउटा प्रकार हो, जुन इन्टरनेटमा भाइरल हुने हास्यपूर्ण तस्बिर, भिडिओ वा विचार (मिम) बाट प्रेरित भएर बनाइन्छ । यसको सुरुवात प्रायः मनोरञ्जन र ठट्टाका लागि हुन्छ । उदाहरणका लागि, 'डजकोइन' पहिलो र चर्चित मिमकोइन हो, जुन कुकुरको तस्बिरबाट प्रेरित थियो ।
मिमकोइनको मूल्य प्रायः यसको प्रचार, प्रयोगकर्ताको समर्थन र भाइरल हुने क्षमतामा निर्भर हुन्छ । यस्ता क्रिप्टोकरेन्सी मनोरञ्जनका लागि चर्चित भए पनि लगानी गर्दा सावधानी अपनाउनुपर्छ, किनभने यसको मूल्य निकै उतारचढाव हुने गर्छ ।