काठमाडौं । चीनले अन्तरिक्षबाट जमिनमा लेजर सन्देश पठाउने नयाँ प्रविधि विकास गरेको दाबी गरेको छ । यो प्रविधिलाई छिट्टै आउने छैटौँ पुस्ताको सञ्चार प्रविधि (सिक्सजी) का लागि महत्त्वपूर्ण कदम मानिएको छ ।
चिनियाँ सरकारी मिडिया साउथ चाइना मर्निङ पोष्ट (एससीएमपी) का अनुसार चीनले स्पेसएक्सको स्टारलिंकलाई उछिनेको दाबी गरेको छ । कमर्सियल स्याटलाइट कम्पनी चाङ गुआङ स्याटलाइट टेक्नोलोजीले आफ्नो जिलिन-१ स्याटलाइट समूहको एउटा स्याटलाइटबाट ट्रकमा राखिएको जमिन स्टेसनमा प्रति सेकेण्ड १०० गिगाबिटको दरमा डेटा पठाएको जानकारी दिएको छ । यो रफ्तार कम्पनीको अघिल्लो रेकर्डभन्दा १० गुणा तीव्र हो ।
अन्तरिक्षबाट जमिनमा लेजर सन्देश पठाउने प्रणाली भनेको स्याटलाइटले अन्तरिक्षमा रहेको आफ्नो उपकरण (जस्तै लेजर कम्युनिकेसन टर्मिनल) प्रयोग गरेर जमिनमा रहेका ग्राउण्ड स्टेशनमा डेटा वा जानकारी पठाउने प्रविधि हो।
स्टारलिंकले सिक्सजी प्रविधि विकास गरिरहेको बारे हालसम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । तर, लेजर कम्युनिकेसन ग्राउण्ड स्टेसन टेक्नोलोजीका प्रमुख वाङ हाङहाङले एलन मस्कको कम्पनीलाई उछिन्ने दाबी गरेका छन् ।
वाङले भने, “मस्कको स्टारलिंकले लेजर स्याटलाइट-बिच सञ्चार प्रणाली बनाएको छ, तर स्याटलाइटबाट जमिनमा लेजर सन्देश पठाउने प्रविधि निर्माण गरेको छैन । हामीले यो प्रविधिको व्यापक प्रयोग गरिसकेका छौँ ।”
उनले सन् २०२७ सम्ममा जिलिन-१ स्याटलाइट समूहका सबै स्याटलाइटहरू तैनाथ गर्ने लक्ष्य रहेको पनि बताए ।
वाङका अनुसार १०० जीबीपीएसको रफ्तारमा डेटा पठाउँदा प्रति सेकेण्ड १० भन्दा बढी चलचित्र पठाउन सकिन्छ । यो प्रविधिलाई एउटा लेनको राजमार्गलाई हजारौँ लेनको राजमार्गमा परिणत गर्न सकिने सन्दर्भमा तुलना गरिएको छ ।
यसअघि, अमेरिकाको म्यासेच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र नासाको टेराबाइट इन्फ्रारेड डिलेभरी (टीबीआरडी) प्रणालीले पनि १०० जीबीपीएसभन्दा बढी रफ्तारमा लेजर सन्देश पठाएका थिए । तर, वाङका अनुसार चिनियाँ प्रणालीको पेलोड २० किलो तौलको छ, जुन सजिलै ट्रकमा राख्न सकिने प्रकारको छ ।
यो प्रणाली ठूलो भवनमा स्थायी रूपमा राख्नुको सट्टा ट्रकमा राखिएको हुँदा सजिलै सार्न सकिन्छ र विभिन्न स्थानमा छिटो प्रयोग गर्न सहज बनाउँछ ।