काठमाडौं । देउडा संस्कृति समाज प्रतिष्ठान कैलालीले सामाजिक सञ्जालमा ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति गम्भीर आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले देउडा संस्कृतिसँग जोडिएको यस शब्दको दुरुपयोगले परम्परा, मौलिकता र संस्कारमाथि आघात पुर्याएको भन्दै खेद प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ““...हाम्रो मौलिकता, संस्कार र भाषा- संस्कृतिलाई होच्याउने गीत-संगीतप्रति खेद प्रकट गर्दै कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय वा जात-जाति तथा समुदायसँग जोडिएको मौलिक, कला, संस्कृति, परम्पराका साथ-साथै पूजनीय संस्कार र संस्कृतिलाई अपहेलना गर्ने होच्याउने खालका गीत- संगीतप्रति घोर आपत्ति जनाउँदै सम्बन्धित निकायहरूमा समेत ध्यानाकर्षण गर्दछौं ।”
प्रतिष्ठानले परम्परा, सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूको शिष्टताको खिल्ली उडाउने, अपमान गर्ने, र काली-कर्णाली क्षेत्रको मौलिक संस्कारमाथि बेइज्जत गर्ने कार्य अस्वीकार्य रहेको जनाएको छ । साथै ‘ढोग दिया’ शब्दलाई लिएर सामाजिक सञ्जालमा फैलिएका अपाच्य गीत, सामग्री र प्रकाशनप्रति आपत्ति जनाएको छ ।
टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंह ठकुरी आफ्ना भिडिओमा दर्शकलाई सम्बोधन गर्न ‘ढोग दिया’ शब्द प्रयोग गर्थिन् । टिकटकमार्फत छोराको विषयमा अभिव्यक्ति दिएपछि नानुसिंह ठकुरी सहित उनका छोरा आयुष सिंह ठकुरी, आयुषकी प्रेमिका पाकिस्तानी मुलकी एलिजे जमाली विवादित भएका थिए । त्यसपछि उनीहरूको समर्थन, विरोध तथा मजाक प्रस्तुत गर्न ‘ढोग दिया’ शब्द सामाजिक सञ्जालमा विभिन्न तवरले प्रयोग गर्न थालियो ।
हालै मात्र रमेश परियारको रचना तथा कविता खत्री र खेम सेन्चुरीको स्वरमा ‘नमस्ते ढोग दिया’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतका टुक्का जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकटकमा भिडिओहरू बनाइरहेका छन् ।