काठमाडौं । फिनटेक कम्पनी एफवन सफ्ट इन्टरनेसनलको सिटिजन्स बैंकमा रहेको खाता ह्याक गरी चार दिनमै करिब तीन करोडभन्दा रकम चोरी भएको देखिएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोगपत्रबाट यस्तो देखिएको हो ।
यस अनुसार एफवन सफ्टले सिटिजन्स बैंक इन्टरनेसनलमा व्यवसायिक खाता खोलेर सञ्चालन गर्दै आएको थियो । सोही क्रममा १ अक्टोबर देखि ४ अक्टोबर २०२४ सम्म पटकपटक गरी सो खाताबाट तीन करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ चोरी भएको पाइएको छ । एफवन सफ्टका अनुसार सो रकम कसैले अनधिकृत रूपमा उक्त कम्पनीको सिटिजन्स बैंकमा रहेको खातामा पहुँच पुर्याई ट्रान्सफर गरिएको थियो ।
यसरी रकम चोरिएको थाहा पाएपछि एफवन सफ्टले २६ मंसिरमा साइबर ब्युरोमा उजुरी दियो । त्यसैका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले सबैभन्दा पहिले उक्त रकम कुन कुन अकाउन्टमा गएको छ भन्ने विश्लेषण गर्यो । त्यसैको आधारमा २४ जना पहिलो तहमा रहेको ब्युरोको टोलीले फेला पारेको थियो । तिनै २४ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ ।
२४ जनामध्ये नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बाँकी १५ जना फरार छन् । पक्राउ परेका प्रायः सबैले उक्त रकम कसैले आफ्नो खातामा पठाइदिएको र त्यसैलाई केही रकम आफूसँग राखी अन्यत्रै ट्रान्सफर गरिदिएको बयान दिएका छन् ।
यति ठूलो ठगी र ह्याकिङको घटनामा उनीहरू कसरी जोडिए ?
प्रहरीलाई बयान दिने अधिकांश प्रतिवादीले एउटै तरिकाको जवाफ फर्काएका छन् । उनीहरूका अनुसार सबैभन्दा पहिले उनीहरूले फेसबुकमा ‘घरमै बसेर पैसा कमाउने’ प्रलोभन देखाइएको विज्ञापन हेरे । विज्ञापनमा क्लिक गरिसकेपछि उनीहरू टेलिग्राम च्यानलमा पुगे । त्यसपछि उक्त टेलिग्राम च्यानल चलाउने व्यक्तिले उनीहरूलाई काम गर्ने तरिकाबारे जानकारी दिए ।
आफूहरूको काम विश्वव्यापी रूपमा फैलिएको भन्दै रकम ट्रान्सफर गर्ने काममा राखिएको भन्दै उनीहरूलाई विश्वस्त बनाए । त्यसपछि फेसबुकको विज्ञापनदेखि घरमै बसेर लाखौं कमाउने लोभमा परी टेलिग्रामसम्म पुगेकाहरूले आफ्नो बैंकको क्यूआर कोड पठाए ।
त्यस लगत्तै उनीहरूको खातामा एक लाख, दुई लाख र तीन लाख रुपैयाँ आयो । उनीहरूलाई रकम पठाए अनुसार तलब बराबरको रकम कसैलाई छ हजार, कसैलाई १० हजार र कसैलाई २० हजार घटाएर बाँकी रकम अर्को अकाउन्टमा पठाउन लगाइयो । उनीहरूले त्यसरी नै रकम ट्रान्सफर गरिदिए । यी सबै काम १, २, ३ र ४ अक्टोबरमा भएको थियो ।
पछि एक्कासि बैंक अकाउन्ट बन्द भएपछि यी व्यक्तिहरूले बैंकमा सम्पर्क गरे । बैंकले खातामा शंकास्पद कारोबार भएकाले बन्द गरेको जानकारी दिंदै साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जान अनुरोध गर्यो । त्यहींबाट अधिकांश आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चिनेका व्यक्तिका लागि बैंक अकाउन्ट खोलिदिएको वा आफ्नै बैंक अकाउन्ट उपलब्ध गराएकाहरू पनि यस घटनामा मुछिएका छन् । यसरी उपलब्ध गराइएको अकाउन्टमा पटक पटक गरी ८० लाखभन्दा बढी रकम जम्मा भई अन्यन्त्रै ट्रान्सफर भएको देखिएको छ । त्यस्तै पसलमा काम गर्ने युवकलाई पसलको बैंक अकाउन्ट जिम्मा लगाउँदा एक मोबाइल पसल सञ्चालक पनि यस घटनामा मुछिएका छन् ।
मागदाबीमा के छ ?
यस मुद्दामा प्रतिवादीलाई ठगी गतिविधिमा संलग्न भएको आरोपमा प्रचलित कानुनअनुसार सजाय दिनु पर्ने र ठगीबाट हिनामिना गरिएको सम्पूर्ण रकम पीडितलाई फिर्ता गराउनुपर्ने माग गरिएको छ । अभियोजन पक्षले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको ठगी सम्बन्धी कसुरलाई उल्लेख गर्दै सजायको माग गरेको छ । उक्त दफा अनुसार, दफा २४९ (३)(ग) मा निर्दिष्ट गरिएका सजाय लागू गरी,अन्य कुनै तरिकाले (दफा (क) वा (ख) मा उल्लेख नगरिएका) ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
अभियोजन पक्षले एफवन सफ्टको बैंक खाताबाट ठगी गरी हिनामिना गरिएको कुल रकम तीन करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ प्रतिवादीबाट असुल गर्न र त्यसमा थप क्षतिपूर्ति पनि उपलब्ध गराउन अदालतलाई अनुरोध गरेको छ । अभियोजन पक्षले अभियुक्तहरू (जसले बैंक खाता खोलेका थिए र जसले रकम ट्रान्सफर गर्न मद्दत गरेका थिए) मिलेमतोमा यो ठगी कार्य गरेको दाबी गरेको छ ।
अदालतसँग उक्त मुद्दामा कारबाही अघि बढाउन, दोषीलाई सजाय दिन र रकम फिर्ता गराउन आग्रह गरिएको छ । साथै ठगीबाट ट्रान्सफर गरिएको रकम अन्य खातामा पठाइएको देखिएकाले ती खातालाई पनि मुद्दा चलुन्जेल रोक्का गर्न माग गरिएको छ ।